हिंसा छाडेर वार्तामा आउन विप्लवलाई कांग्रेसको आग्रह

61

चैत १२,
काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर द्वन्द्वको बीजारोपण गरेको बताएको छ । कांग्रेसले सरकारको प्रतिबन्धका कारण उसका गतिविधि झनै उत्तेजित भएको बताएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको दलको बैठकले सरकारले चन्द नेतृत्वको नेकपालाई हठात्मा प्रतिबन्ध लगाएर उसका गतिविधिलाई झनै उत्तेजित बनाउन खोजेको र प्रतिबन्धले द्वन्द्वको बीजारोपण हुन सक्ने खतरा रहेको ठहर गरेको हो ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले विप्लव नेतृत्वको नेकपामाथि हतारमा प्रतिबन्ध लगाएको र सरकारकै कारण विप्लवका गतिविधि उत्तेजित भएको तथा यसले द्वन्द्वको बीजारोपण गर्न सक्ने खतरा रहेको बताए । ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउनु सरकारको हठात्को निर्णय हो, प्रतिबन्ध लगाएर सरकारले झनै उसका गतिविधिलाई उत्तेजित बनाएको हाम्रो ठहर छ, प्रतिबन्धले द्वन्द्वको बीजारोपण गर्न सक्छ,’ प्रमुख सचेतक खाँडले भने । उनले निर्वाचन आयोगमा दर्ता नै नभएको दललाई प्रतिबन्ध लगाएर सरकारले निषेधका राजनीति गरेको समेत बताए ।

कांग्रेसले चन्द नेतृत्वको नेकपालाई हत्या–हिंसाको राजनीति छाडेर वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आउनसमेत आग्रह गरेको खाँडले जानकारी दिए । ‘हत्या–हिंसाको बाटोबाट कुनै पनि राजनीतिक माग पूरा हुन सक्दैन, वार्ता र सहमतिमार्फत नै शान्तिपूर्ण राजनीतिमा आउन हामी विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्छौं,’ उनले भने ।

कांग्रेसले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि प्रभावकारी नभएको र आगामी अधिवेशनमा पनि प्रश्नोत्तर कार्यक्रमलाई उठाउने बताएको छ । ‘संसद्को हिउँदे अधिवेशनमा प्रश्नोत्तरका कार्यक्रम सुरु भयो तर मन्त्री र प्रधानमन्त्री भाग्न खोज्नुभयो, त्यसकारण प्रभावकारी भएन,’ प्रमुख सचेतक खाँडले भने, ‘यो विषयलाई हामीले त्यसबेला पनि उठायौं, आउँदो अधिवेशनमा पनि उठाउछौं । बैठकले सरकार जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको, मूल्य वृद्धि र महँगी नियन्त्रण गर्न असफल भएको समेत निष्कर्ष निकालेको छ ।

यसैगरी, मुलुकको राज्य प्रणाली विकेन्द्रीकृत हुँदासमेत सरकारको सोच अहिले पनि विकेन्द्रीकरण हुन नसकेको कांग्रेस संसदीय दलको बैठकले ठहर गरेको छ । कांग्रेसले प्रदेश सरकारलाई अधिकार दिन केन्द्र सरकारले आलटाल गरेको र आफूमा नै थप अधिकार जम्मा गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको जनाएकोे हो ।

यस्तै, कांग्रेसले सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकमा कपोकल्पित परिकल्पना गरेर सेना परिचालनको जिम्मेवारी प्रधानमन्त्रीले लिन खाजेको समेत आरोप लगाएको छ । सो विधेयकलाई सरकारले तत्काल फिर्ता लिनुपर्ने र फिर्ता नलिए पारित हुन नदिने कांग्रेसको चेतावनी छ ।