क्षयरोग नियन्त्रणको लागि प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री राउत

87

चैत ११
जनकपुर -मुख्यमन्त्री लालबाबु राउतले क्षयरोग नियन्त्रणको लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। १३६औं विश्व क्षयरोग दिवस तथा सार्क क्षयरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विगतमा क्षयरोग नियन्त्रणको लागि सरकारले गरेको लगानीअनुरुप प्रतिफल प्राप्त हुन नसकेको भएपनि अगामी दिनमा त्यो समस्या आउन नदिने दाबी गरे।

उनले प्रदेशमा व्याप्त अशिक्षा र खुला सिमानाका कारण स्वास्थ्यमा सोच अनुरुपको प्रगति हुन नसकेको स्वीकार गर्दै अबका दिनमा क्षयरोगजस्ता रोगहरुको नियन्त्रण तथा उन्मुलनको लागि प्रदेश सरकार सतर्कताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए।

पछिल्ला एक दशक जनप्रतिनिधिविहीन रहेका कारणसमेत अनुगमन तथा निरीक्षण हुन नसक्दा कार्यक्रमहरु प्रभावकारी हुन नसकेकोले अबको दिनमा नियमित अनुगमन तथा निरीक्षण गर्दै क्षयरोग नियन्त्रणको लागि कडा नीति अख्तियार गरिने उनले उल्लेख गरे।

मुख्यमन्त्री राउतले हालको संक्रमणकालीन अवस्था लामो समय नरहने जिकिर गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका कर्मचारी अभावजस्ता समस्या केही दिन भित्रै समाधान गरिने बताए। समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राज्यमन्त्री अभिराम शर्मा, सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशक डा राजन पन्त, स्वास्थ्य निर्देशनालयका निर्देशक डा प्रमोद यादवसहितले आ-आफनो मन्तव्य व्यक्त गरेका थिए।