चैत ८
काठमाडौँ -नेपाल र कुवेतबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ । गत राति भएको खेलमा नेपाली टिमका गोलरक्षक किरणकुमार चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आक्रामक टोली कुवेतलाई ०–० मा रोकेको हो । खेल समयभरि पोस्ट जोगाउन निकै व्यस्त बनेका किरणले दर्जनौं प्रहार बचाएका थिए । नेपाली टोलीलाई भने कुवेतको आक्रमण लाइन रोक्न निकै व्यस्त हुनु परेको थियो । खेलको ६१औं मिनेटमा कुवेतले पेनाल्टी पाएको थियो । अजित भण्डारीले लामो पास क्लियर गर्न खोज्दा आकाशे बलमा खुट्टा प्रयोग गरेपछि रेफ्रीले कुवतेलाई पेनाल्टी हान्न दिएका थिए ।
तर, कुवेतका खेलाडीको पेनाल्टी सट पोस्टबाहिर गएपछि नेपाल गोल खानबाट बचेको थियो । त्यसपछि नेपालले केही गोल गर्ने मौका बनाए पनि गोल गर्न सकेन । विमल राना सहज अवस्थामा गोल गर्नबाट चुकेका थिए ।
नेपालले नयाँ प्रशिक्षक योहान कालीनको नेतृत्वमा पहिलो खेल खेलेको हो । यसै खेलमा उनले ५ खेलाडीलाई डेब्यु गराएका थिए । जसमा रवी पासवान र सन्तोष तामाङ, सुरज बिक, अजित भण्डारी र विमाल रानाले डेब्यु पाए । यससँगै नेपालले अब दोस्रो खेल मार्च २५ तारिखमा खेल्दैछ । सो खेल जितेर नेपाली टोली नयाँ प्रशिक्षकको नेतृत्वमा पहिलो जित दर्ता गर्ने योजनामा हुनेछ ।