निर्मला पन्त प्रकरण : एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर

110

चैत ५,
कञ्चनपुर -बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । जिल्ला अदालतका रजिष्टार हरिकृष्ण अवस्थीका अनुसार एसपी विष्टको आजै बयान सुरु हुनेछ । विष्टको आज बयान सकिएमा आजै थुनछेक बहस हुने र नसकिए भोली थुनछेक बहस सुरु हुने अवस्थीले बताए ।

सबै मिडियामा फरार भन्ने खबर आएपनि आफू फरार नभएको बताउँदै आफैँ अदालत उपस्थित भएको एसपी विष्टले प्रतिक्रिया दिएका छन् । यद्यपी एसपी विष्ट र डिएसपी अंगुर जिसीलाई अदालतले ३५ दिन भित्र हाजिर हुन पत्र काटेको थियो।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कन्चनपुरमा कार्यरत तत्कालिन प्रहरी अधिकृत विरुद्ध मुद्दा परेको थियो ।

अभियोग लागेका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काले जनही नौ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । प्रहरी निरीक्षक जगदिश भट्टले चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदले दुई लाख पचास हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।