नागरिकमाथि हुने अपराधसह्य हुदैन : मन्त्री ज्ञवाली

61

फागुन २४,
तम्घास -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताउनुभएको छ । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दोष जनतामाथि खेलवाड गरिरहेको भन्दै यसरी अवैध ढङ्गले हतियार सङ्कलन गर्नु कानून विपरीत रहेको बताउनुभयो ।

कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु सरकारको प्रमुख दायित्व भएको मन्त्री ज्ञवालीले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ गुल्मीद्वारा आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चन्दा नदिएको आधारमा हिंसालाई चन्दा असुलीको माध्यम बनाउने कुरा कदापि उचित नभएको र उक्त बाटो गलत भएको भन्दै त्यसलाई समयमै पुर्नविचार गर्न विपल्व समूहलाई आग्रह गर्नुभयो ।

‘आपाराधिक कुरा आपराधिक हिसाबले गरिन्छ, राजनीतिक कुरा राजनीतिक हिसाबले गरिन्छ’ उहाँले भन्नुभयो । पत्रकारद्वारा रेशम चौधरीको विषयमा अदालतले गरेको फैसला सम्बन्धी एक प्रसङ्गमा बोल्दै मन्त्री ज्ञवालीले अदालतले गरेको फैसला परिपालन गर्नु सबैको कर्तव्य हो भन्नुभयोे । वर्तमान सरकार देशको समस्या समाधानका लागि सबैलाई मिलाएर लैजाने पक्षमा रहेको उहाँको ।भनाइ थियो । मन्त्री ज्ञवालीले सरकारको रचनात्मक आलोचना गर्न र जनतामा निराशा फैलिने काम नगर्न सञ्चारकर्मीलाई समेत आग्रह गर्नुभयो ।-रासस