प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गरिन्छ : मन्त्री पण्डित

63

फागुन २३,
काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गरेका छन्। मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरूलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेश गरिएको स्पष्ट पारेका छन्। उनले अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीहरूलाई बढुवा भएर संघीय सरकार मातहत ल्याउने बाटो खुला रहेको बताएका छन्।

बिहीबार ललितपुरमा नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूका लागि आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले कुनै पनि तहका कर्मचारीहरूको वृत्तिविकास नरोकिने दोहोर्‍याए। उनले अहिले समायोजनमार्फत् स्थानीय तहमा गएका निजामती कर्मचारीहरूलाई संघीय सरकार मातहतनै फर्काउने प्रतिवद्धता व्यक्त गरे। मन्त्री पण्डितले जनताको पीडालाई सम्बोधन हुने गरी सेवा प्रवाहको कामलाई अघि बढाउन पनि नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूलाई आग्रह गरे।