Wednesday, October 28, 2026
Home अर्थ भालु र बाँदर लखेट्न, घोडा किन्न गाउँपालिकाको बजेट विनियोजन

भालु र बाँदर लखेट्न, घोडा किन्न गाउँपालिकाको बजेट विनियोजन

79

कास्की । जिल्लाको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र भालु जस्ता जंगली जनावरबाट दुःख पाएपछि त्यसलाई लखेट्न बजेट ब्यवस्था गरिएको छ ।जंगली जनावरको आतंक रोक्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । कृषि क्षेत्रलाई प्राथमिकता दिँदै पालिकाले उत्पादनमा आधारित कार्यक्रम सन्चालन गर्ने भएको छ ।साना व्यवसायीलाई रोजगार प्रबद्र्धन गर्न र सहुलियत ऋण दिन ५० लाख छुट्याइएको छ भने अध्यक्षसँग उत्पादनमा अनुदान कार्यक्रमका लागि ५० लाख विनियोजन गरिएको छ ।

कृषि क्षेत्रमा आधुनिकीकरण तथा यान्त्रीकरण गर्न कृषि औजारमा अनुदान दिने गरी ३० लाख विनियोजन गरिएको उपाध्यक्ष कल्पना गुरुङले जानकारी दिइन् । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीयसँगको साझेदारीमा घोडा खरिद गर्ने कार्यक्रम पालिकाको छ । यसका लागि १५ लाख छुट्याइएको छ ।

पालिकाले आगामी वर्षका लागि ६५ करोड ४८ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू वर्षमा ६२ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । मादीलाई संघ सरकारले वित्तीय समानीकरण शीर्षकमा नौ करोड ६२ लाख, सशर्त अनुदान २९ करोड ९२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँटबाट १० करोड तीन लाख र रोयल्टी एक करोड ६ लाख पाउने अनुमान गरिएको छ । यस्तै, प्रदेश सरकारले समानीकरणतर्फ एक करोड ४ लाख र राजश्व बाँडफाँटमा ८१ लाख दिने बताइएको छ । बाँकी रकम अहिले खर्च हुन नसकेको र आन्तरिक आम्दानीबाट जुटाउने छ ।

बजेटमा आर्थिक विकासतर्फ पाँच करोड ४२ लाख ४० हजार, सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । आगामी वर्षको बजेट काम सुरु भएका भौतिक पूर्वाधारलाई पूर्णता दिने गरी विनियोजन भएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।