धरहरा पुनःनिर्माणको काम तिब्र गतिमा

96

फागुन २३
काठमाडौँ -एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।

प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । सो अवसरमा उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्ने बताउनुभएको थियो । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको थियो । तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ । अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

रानीपोखरीको पनि पुनःनिर्माण

भूकम्पका कारण पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा रानीपोखरीको पनि यसै सातादेखि पुनःनिर्माण कार्य प्रारम्भ भएको छ । क्षति पुगेको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाबाट निर्माणको काम हुन नसके पनि अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको काम थालेको हो ।

राष्ट्रप्रमुखबाट तीन वर्ष अघि शिलान्यास भए पनि पुनःनिर्माण शुरु नभएको उक्त पोखरीको निर्माण कार्यअन्तर्गत अहिले सफा गर्ने काम धमाधम भइरहेको छ । २ माघ २०७२ मा शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको काम शुरुमा काठमाडौँ महानगरपालिकाले पाएको थियो तर, महानगरले ठेकदारमार्फत् काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एकपछि अर्को विवाद भएपछि काम हुन नसकेको हो । आउने तिहारमा पोखरीमा पानी भर्ने गरी काम गरिने प्राधिकरणले जनाएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो ।

काष्ठमण्डप पुनः निर्माण १३ प्रतिशत

अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले काठको काम भइरहेको छ । फागुन महीनाभरि मुख्यमुख्य रुपमा गर्नुपर्ने काठको काम गरिने र चैतदेखि धमाधम अन्य काम हुने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भन्नुभयो । यस सम्पदाको अहिलेसम्ममा १३ प्रतिशत काम सकिएको छ

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन रहेको काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार वटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको छ ।

अध्यक्ष शाक्यले भन्नुभयो, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ । महानगरपालिकाले पुनःनिर्माण समितिलाई हालसम्ममा रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । -रासस