प्रदीप र जसिताको ‘लभ स्टेसन’को फस्ट लुक्स सार्वजनिक

343

फागुन १९,
काठमाडौँ। चलचित्र ‘लभ स्टेसन’ को फस्ट लुक्स रिलिज गरिएको छ । आगामी नयाँ वर्षको अवसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्सका रूपमा सातवटा पोस्टर शुक्रबार रिलिज गरिएको हो ।

चलचित्र लिलिबिलीबाट चर्चामा आएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित ‘लभ स्टेसन’ सांगीतिक प्रेम कथामा आधारित चलचित्र भएको यसका निर्देशक उज्ज्वल घिमिरेले जानकारी दिएका छन् ।

अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा लभ स्टेसनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । जुन कुरा फस्ट लुक्सले पनि प्रस्ट्याएको छ । यसका प्रस्तुतकर्ता गोविन्द शाहीले चरित्र चित्रण र हल पोस्टर गरी दुई प्रकारको फस्ट लुक्स रिलिज गरिएको राजधानीलाई बताए । रिलिज गरिएको पोस्टरमध्ये दुईवटामा अभिनेता प्रदीप र अभिनेत्री जसिताको सम्बन्धलाई पिङमार्फत देखाइएको छ । दुईवटामा यी दुईलाई एकल रूपमा र बाँकी तीनवटामा संयुक्त रूपमा प्रस्तुत गरिएको छ । सबै डिजाइन आनन्द के महर्जनले गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको लभ स्टेसनमा शम्भुजीत बाँसकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी, राजेन्द्र रावलको निर्माण व्यवस्थापन छ ।

लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।