सरकारको आश्वासनपछि चिकित्सक सङ्घले लियो आन्दोलनका सबै कार्यक्रम फिर्ता

74

फागुन १९,
काठमाडौँ, कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा गोदानका पदाधिकारीका बीचमा शनिबार छलफल समेत भएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रवीन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समायोजन प्रक्रियामा सरकारी चिकित्सकलाई सङ्घ अन्तर्गत नै राख्नुपर्ने, स्थानीय तह र प्रदेश तहमा कार्यरत चिकित्सकको वृति विकास रोकिन नहुने लगायतका माग उठान गर्दै गोदान आन्दोलनरत् रहेको थियो ।-रासस