प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’

90

फाल्गुन १५,
काठमाडौँ — हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा-टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन् । ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ,’ उनले टेलिफोनमा भने, ‘प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं। ५ वटा लाश जलिरहेको अवस्थामा छ।’

घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले अहिलेसम्म ५ वटा शव फेला परेको बताए । उनले भने, ‘पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको हो ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिए।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

ताप्लेजुङस्थित कान्तिपुरका संवाददाता आनन्द गौतमले चुहान डाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको स्थानीयलाई उद्धृत गर्दै बताएका छन्।

ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

थप विवरण आउन बाँकी। kantipur