सिंहदरवारका अस्तव्यस्त क्यान्टिन बन्द

61

नेपाल समाचारपत्र/गंगा बराल
फागुन १५, काठमाडौं । सिंहदरवार भित्र अस्तव्यस्त रुपमा संचालित क्यान्टिन बन्द गरिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई पत्र पठाएर विभिन्न मन्त्रालयमा रहेका क्यान्टिन बन्द गर्न निर्देशन दिएको थियो । सो कार्यालयका सिनियर डिभिजन इन्जिनियर अमरबहादुर थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परिपत्र गरेपछि सम्बन्धित मन्त्रालयमा पत्र पठाएर अस्तब्यस्त रुपमा खुलेका त्यस्ता क्यान्टिन बन्द गरिएको बताउनुभयो ।

गत भदौ ३१ गते सिंहदरवार परिसर व्यवस्थापन सम्बन्धमा मुख्यसचिवको अध्यक्षतामा बसेको बैठकले गरेको २६ बुँदे निर्णयको १० नम्बर बुँदामा जथाभावी रुपमा खुलेका क्यान्टिन बन्द गराउने निर्णय गरिएको थियो । सर्भिस सेन्टरमा रहेको ठूलो, संसद् सचिवालयमा रहेको अर्को र अन्य मन्त्रालयमा रहेका क्यान्टिनले मात्र सेवा पुग्न नसक्ने भएकाले थप २ वटा ठूला र व्यवस्थित क्यान्टिन सञ्चालन गर्ने तयारी गरिएकोे थापाले जानकारी दिनुभयोे । नेपाली कांग्रेसको र तत्कालीन नेकपा एमालेको संसदीय दलमा रहेका क्यान्टिन भने निर्वाध रुपमा सञ्चालनमा छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनमा रहेका क्यान्टिन पनि संचालनमा छन ।