लम्बेतान एकता, असन्तुष्टले बुझाए समानान्तर प्रतिवेदन

102

अन्नपूर्ण पोष्ट दैनिक/रामकृष्ण अधिकारी
फागुन १३, काठमाडौं । नेकपाको एकता कार्यदल विघटनपछि असन्तुष्ट सदस्यले पार्टी अध्यक्षलाई समानान्तर प्रतिवेदन बुझाएका छन्। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा पर्खिएर आइतबार बेलुकी ९ बजे प्रतिवेदन दिए। ओलीले बेलुका ७ बजेको समय दिएका थिए। तर, उनी उक्त समयमा राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका थिए।

नेताहरू योगेश भट्टराई, वेदुराम भुसाल, लेखराज भट्ट, वर्षमान पुन र सुरेन्द्र पाण्डे असन्तुष्ट छन्। प्रतिवेदन बुझाउन भने भट्टराई, भुसाल र भट्ट मात्र उपस्थित थिए। पाण्डे चीन भ्रमणमा र पुन राजधानीबाहिर छन्। असन्तुष्ट नेताले स्थायी समिति बैठक बोलाई प्रतिवेदनबारे छलफल गराउन माग गरेका छन्। स्थायी समितिले बनाएको कार्यदल सचिवालयले विघटन गर्न नपाउने तर्क पनि उनीहरूले गरेका छन्। कार्यदल संयोजक रामबहादुर थापा र वरिष्ठ सदस्य विष्णु पौडेलले कार्यदललाई काम गर्न नदिएको आरोप असन्तुष्ट सदस्यले लगाएका छन्।

भट्टराई, भुसाल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल अनि भट्ट र पुन अध्यक्ष पुष्पकमल दाहालनिकट नेता हुन्। कार्यदलमा ओली, दाहाल र नेपाल पक्षका तीन–तीन नेता थिए। संयोजक थापा, सदस्यहरू पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ कार्यदल विघटनबारे बोलेका छैनन्। कार्यदलले सात दिन म्याद थप्न सचिवालयलाई पत्र लेखेको थियो। तर, सचिवालय बैठकले शुक्रबार कार्यदल भंग गरेको थियो। थापा र पौडेलले शीर्ष तहबाटै काम गर्न या अन्य नेतालाई एकता प्रस्ताव तयार पार्ने जिम्मा दिन आग्रह गरेका थिए।

नेकपाले १३ पुसमा कार्यदल बनाएको थियो। कार्यदल बैठक सातपटक बस्यो। ६ माघपछि भने बैठक नबोलाएपछि अन्योल भएको थियो। कार्यदलले १५ दिनभित्र काम सक्ने म्यान्डेट पाएको थियो। २१ माघसम्म पनि प्रतिवेदन नबुझाएपछि सचिवालयले कार्यदलले गरेको काम जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बुझाउन निर्देश गरेको थियो। २७ माघमा कार्यदलले सात दिन समय माग गर्ने गरी प्रतिवेदन तयार पारेको थियो।