केरुङ- काठमाडौं रेलमार्गको काम कहाँ पुग्यो?, चीन आतुर, नेपाली पक्षले देखाएन चासो

171

फागुन ११,काठमाडौं:
बहुचर्चित केरुङ – काठमाडौं रेल परियोजना अझै प्रारम्भिक चरणमै रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको रेल काठमाडौं जोड्ने घोषणा गरेका थिए। तर अहिले भने केरुङ-काठमाडौं रेलका बारेमा चर्चा समेत कम हुन थालेको छ।चिनियाँ रेल काठमाडौं ल्याउने भनिएपनि तत्कालै काम सुरु हुनेमा रेल रेल विभागका अधिकारीहरु नै विश्वस्त छैनन् । डिसेम्वरमा काठमाडौं भएको बैठकमा चिनियाँ पक्षले अध्ययन गरेर तयार पारेको फिजिविलिटी रिपोर्ट नेपाल सरकारलाई औंपचारिक रुपमा हस्तान्तरण गरेको थियो ।

चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्ट्रिच्युटले करिव तीन महिना अध्ययन गरेर उक्त प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदनले केरुङ – काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो। फिजिवल देखिएको चिनियाँ रेल परियोजना कसरी अगाडि बढाउने भन्नेनै टुंगोमा पुग्न सकेको छैन। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय एक सहसचिवका अनुसार चिनियाँ पक्षले रेल निर्माणका सम्वन्धमा नेपालले आफ्नो स्पष्ट धारणा राखोस भन्ने चाहेको थियो ।

नेपालले अनुदानमा बनाइदिन भनेपनि रेलमार्ग निर्माण बारे ठोस योजना दिन सकेको छैन। जसका कारण रेलमार्गको थप अध्ययन गर्ने विषय अन्योलमा रहेको ती सहसचिवले बताए । ‘चीनले औपचारिक प्रस्ताव लिएर आओस भन्ने चाहेको छ नेपाली पक्षले चासो दिएको छैन ।’उनले भने । चीन रेलमार्ग बनाउने आतुर भएपनि नेपालले चासो नदिएकै कारण परियोजना अघि बढाउने विषयमा ढिलाई भएको ती सहसचिवले बताए।यो रेल परियोजनाको अझै सम्भाव्यता अध्ययन,विस्तृत इन्जिनियरिङ रिपोर्ट ( डिईआर ) गर्न बाँकी नै छ । डिईआर रिपोर्ट तयार भएपछि मात्रै मोडालिटी टुङग्याएर निर्माणमा जान सकिन्छ।रेल विभागका महानिर्देशक बलराम मिश्र भने रेल परियोजना अघि बढाउन निरन्तर द्धिपक्षीय छलफल भैरहेको बताउँछन्। उनले  दुई/तीन महिनाभित्र केरुङ-काठमाडौ रेल परियोजनाको बैठक चीनमा गर्ने समझदारी भएको जानकारी दिए । मिश्रका अनुसार उक्त बैठकमा डिईआर बनाउने विषय टुङगो लगाउने जानकारी दिए । नेपालले चिनियाँ पक्षलाई नै डिईआर गरिदिन आग्रह गर्ने भएको छ ।

महानिर्देशक मिश्रका अनुसार यो रेल परियोजना बन्ने भुगोल संसारका कठिन मानिएका मध्ये एक  हो । निर्माण खर्चिलो र कठिन हुने भएपनि सिभिल इन्जिनियरिङमा असम्भव केहि हुँदैन । निर्माण सम्पन्न भएपछि रेलमार्ग सिभिल इन्जिनियरिङमा एउटा उदाहरण बन्ने मिश्रको भनाई छ । यो रेलमार्ग बनेपछि पर्यटकीय सम्भावना समेत बढ्ने छ भने विभिन्न देशबाट रेलमार्ग अध्ययन गर्न र हेर्नका लागि इन्जिनियर पर्यटकहरु आउनेछन् ।

चिनियाँ कम्पनीले दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लामो हुनेछ। जसमा ७ वटा टनेल हुनेछन् । सुरुङमार्ग समेत लामो हुनेछ। त्यस्तै करिव ७० मिटर उचाईसम्मका पुलहरु निर्माण गर्नुपर्नेछ । ९० प्रतिशत भन्दा बढी भाग टनेल र पुलमा रहनेछ । रसुवागढी बाट करिव २ हजार मिटर ओरालो रेल झरेर काठमाडौं आइपुग्नुपर्ने भएकाले सिङगल इन्जिनको रेल संचालन गर्न नसकिने रिपोर्टमा उल्लेख छ ।  यो  रेलमार्ग बनाउन २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान उक्त रिपोर्टमा गरिएको छ । डिपिआर नबनेका कारण मोडालिटीको टुङगो लागेको छैन् ।

चीनले सिगात्सेबाट केरुङ करिव ५ सय किलोमिटर रेलमार्ग निर्माण सुरु गरेकै छैन। सन् २०२० मा रेलमार्ग ल्याउने पूरा नभएपछि दुई वर्षपछि सारिएको छ। चिनियाँ प्राविधिकहरुले कुनै समस्या नआए निर्माण सुरु गरेको ९ बर्षमा काठमाडौंसम्म रेल ल्याउन सकिने बताएका छन् ।-बिजमाण्डू