कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले सुरु गरेको अनिश्चितकालिन धर्ना स्थगित गरिएको छ । धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी भएपछि शुक्रबारदेखि धर्ना स्थगित गरिएको हो । हत्यारा सार्वजनिक गर्न माग गर्दै कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि सुरु भएको धर्ना १ सय ५ दिनपछि स्थगित भएको हो । ज्येष्ठ नागरिक ७५ वर्षीया दिलमाया खरेल र ३ वर्षीया बालिका आरुशी चन्दले निर्मलाका आमाबुवालाई जुस खुवाएर धर्ना स्थगति गरेका हुन् । बुवा यज्ञराज र कान्छी आमा लक्ष्मी उपचारका लागि आजै काठमाडौं जाने तयारीमा छन्। धर्ना स्थगित गर्नुअघि यज्ञराजले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हत्यारा पत्ता लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउने क्रममा पनि उनले आफू बिरामी भएर धर्ना स्थगित गर्न लागेको बारेमा प्रशासनलाई जानकारी गराए । सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले ज्ञापन पत्र बुझ्दै उपचारका लागि आवश्यक सहयोग गर्ने विषयमा गृह मन्त्रालयमा जानकारी गराउने बताए ।