अष्ट्रेलियामा बिचल्ली भएका नेपाली नर्सिङ विद्यार्थीको उद्धार गर्न कांग्रेसको आग्रह (विज्ञप्ति सहित)

50

फाल्गुण ८,
काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवम् उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

प्रेस विज्ञप्ति

अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ ।

तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ ।

नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको छ ।
नेपाल सरकारले ती विद्यार्थीहरुको उद्धार उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गरोस् र पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाओस्, नेपाली कांग्रेस सम्पूर्ण तदारुकताका लागि हार्दिक अपिल गर्दछ ।

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ ।

विश्वप्रकाश शर्मा
प्रवक्ता