सरकार अब चुप लागेर बस्नेवाला छैन: प्रधानमन्त्री

142

फागुन ८
काठमाडौं, आज धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको र धेरै समय चुप लागेर नबस्ने बताएका छन्।

उनले भने जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्छ। निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको बताए।

‘क्रान्तिका कुरा गर्दै बिजुली आयोजना बनाउन नदिने, आगजनी गर्ने, चन्दा आतंक फैलाउने काम देश डुबाउने खेल हो, सरकार देश डुबाउने यस्ता कुराप्रति चुप लागेर बस्नेछैन,’ प्रधानमन्त्री ओलीले भने।

उनले केही समयअघि अरूण तेस्रोको कार्यालयमा विप्लवको पार्टीले गरेको आगजनीको उदाहरण दिँदै त्यसले एकातिर भारतसँगको सम्बन्ध बिगार्ने र अर्कोतिर नेपालमा विदेशी लगानी नआवस् भन्ने षडयन्त्र रहेको बताए।

‘अकारण जनतालाई आतंकित बनाउने र अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश प्रवाह गर्ने, लगानी नआओस् भन्ने कुरा सरकारलाई मान्य हुँदैन,’ प्रधानमन्त्रीले भने,‘यस्ता गतिविधिमा आवश्यक समयमा आवश्यक नियन्त्रण गरिनेछ।’