फागुन १,
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, सोही कार्यालयका नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेशनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर तथा सवारीधनी धनबहादुर तामाङ, नेपाल बङ्गलादेश बैंकले गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको हो । उनीहरुविरुद्ध जनही सात करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा बिगो मागदाबी गरिएको छ ।
भन्सार अधिकृतको मिलेमतोमा उनीहरुले थाइल्याण्डमा निर्मित दुई हजार १६० जोडी महिलाले लगाउने जुत्ताको उत्पत्ति मुलुक चीन देखाई उत्पत्तिको मुलुक फरक पारी गलत घोषणा गरिएकामा रसुवा भन्सार कार्यालयबाट जरिवाना नगरी छाडिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ । त्यस्तै आयोगले अदालतमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु पाँच लाख घुस लिएको आरोपमा जिल्ला अदालत बबरमहलका फाँट नं २६ मा कार्यरत नायब सुब्बा भोलानाथ चालिसेविरुद्ध समेत विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । -रासस













