उद्योगमन्त्री यादव द्धारा जनकपुर चुरोट कारखाना सञ्चालनको तयारी ,पूर्व स्वास्थ्य मन्त्रीहरुको विरोध

यसलाई न्यूनीकरण गर्न जरुरी रहेको भन्दै सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन समेत ल्याइएको छ। उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव भने कानुनको मर्मविपरीत चुरोट कारखाना चलाउने तयारीमा जुटेको पाइएको छ।

केही समयदेखि बन्द जनकपुरस्थित जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन उनी सक्रिय भएका हुन्।केही विदेशी लगानीकर्ताको प्रलोभनमा सूर्तिजन्य पदार्थको सेवन न्यूनीकरण गर्दै लैजाने सरकारको नीतिविपरीत उनी कारखाना सञ्चालन गर्न अघि सरेका छन्।

कारखाना चलाउन उनले विभिन्न अन्तर्राष्ट्रिय कम्पनीले सम्पर्क गरिरहेको बुझिएको छ। तीमध्ये तीन चिनियाँ र दुई भारतीय कम्पनीले कारखाना हेरेर समेत गइसकेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ।

 

पछिल्लो समय उनी एउटा चिनियाँ कम्पनीको बढी सम्पर्कमा रहेका छन्। सम्भाव्यता अध्ययनका लागि एक चिनियाँ कम्पनीको प्राविधिक टोली समेत बोलाइएको उद्योग मन्त्रालय स्रोतको दाबी छ। उक्त टोलीको अध्ययनपछि उद्योग सञ्चालन थाल्ने विषयमा उनले मन्त्रालयका कर्मचारी र निकटस्थहरुलाई बताउने गरेका छन्।

पूर्व स्वास्थ्य मन्त्रीहरुको विरोध
बन्द उद्योग सञ्चालन गर्ने नाममा ‘हानिकारक उद्योग’ ब्युँताउन नहुने सरोकारवालाहरुले बताइरहेका छन्। सरकारले धूमपान तथा सूर्ति सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूमपान तथा सूर्ति सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले ऐन नै ल्याएर नियन्त्रणको प्रयास गरिरहेको छ।

मन्त्री यादवले उद्योग सञ्चाल गर्नु उक्त ऐनविपरीत रहेको सरोकारवालाहरु बताउँछन्। नेपालको ऐनअनुसार सूर्तिजन्य पदार्थलाई प्रबद्र्धन गर्न समेत नमिल्ने अवस्थामा सरकारले नै उद्योग सञ्चालन गर्नु गलत रहेको सत्तारुढ दल नेकपाका प्रमुख सचेतक समेत रहेका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको राय छ।

सरकारले देश र जनतालाई लाभ हुने उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘सरकारले उद्योग चलाउने हो भने चिनी उद्योग चलओस्। वर्षौंदेखि उखुको मूल्य नपाइरहेका किसानहरुको पनि भलो हुन्छ। सरकारलाई पनि नाफा हुन्छ।’ सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि सरकारले लगानी गरिरहेकाले यसको प्रबद्र्धन हुने उद्योगमा लगानी गर्नु गलत भएको उनी बताउँछन्।

पूर्व स्वास्थ्य मन्त्री गगन थापा सरकारले ‘घाटामा जाओस्’ भन्ने चाहना राख्ने सूर्तिजन्य पदार्थका उद्योगमा आफैं लगानी गर्न तम्सिनु गलत रहेको बताउँछन्। उनी भन्छन्, ‘एकातिर चुरोट नखाऊ भनेर सरकारले भनिरहनुपर्छ। अर्कातिर चुरोट उद्योग सञ्चालन गर्ने कार्य सही होइन।’

सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको सरकारको ‘खोक्रो प्रतिबद्धता’ जाहेर हुने उनको धारणा छ। ‘सरकारले लगानी सामाजिक सेवा र बजार नियमनका लागि गर्छ। तर, सूर्तिजन्य पदार्थको उद्योगमा लगानी गर्दा यी दुवै उद्देश्य आकर्षित हुँदैनन्,’ थापाले भने।

सरकारले खुसी र समृद्ध नेपाल बनाउन चाहेको हो भने जनउत्तरदायी लगानीको सिद्धान्त अपनाउन जरुरी रहेको डा तारासिंह बम बताउँछन्। क्षयरोग तथा फोक्सो रोगका विरुद्ध द युनियनका एसिया प्यासिफिक क्षेत्रका उपनिर्देशक डा बम भन्छन्, ‘सरकारले घातक, हानिकारक, अनैतिक र अस्वस्थ सेवा वा वस्तु उत्पादन गर्ने कम्पनीमा लगानी र नीति निर्माण गर्नुहुँदैन। सूर्तिजन्य पदार्थ उत्पादन कम्पनीहरु पनि मानव स्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादक मध्येमा पर्छन्। यसमा आन्तरिक तथा बाह्य लगानी स्वीकारिनु हुँदैन। किनकि यस्ता कम्पनीले बेच्ने भनेको मृत्यु र रोग हो।’

वर्षेनी २५ हजार नेपालीको मृत्यु
सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २५ हजारभन्दा बढी नेपालीहरुको मृत्यु हुने गरेको अध्ययनले दर्शाएका छन्। यसलाई गरिबीको एउटा महत्वपूर्ण कारक मानिएको छ। सूर्तिजन्य पदार्थले निम्त्याउने क्यान्सर र अन्य रोगको उपचारमा नेपालले वर्षेनी ३३ अर्ब रुपैयाँ खर्च गरिरहेको छ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभरका १० करोडभन्दा बढी व्यक्तिले सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने सन् २०३० सम्ममा १ करोडभन्दा बढी सूर्ती सेवनकर्ताको सूर्ती सेवनकै कारण मृत्यु हुने अनुमान गरिएको छ।

संगठनका अनुसार विश्वमै सूर्तीजन्य पर्दाथको सेवनले प्रत्येक १ सेकेन्डमा १० जनाको मृत्यु हुने गरेको जनाएको छ।

त्यसमध्ये सूर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको नजिक रहेकै कारणले मृत्यु हुनेको संख्या ६ लाख रहेको छ। पछिल्लो अध्ययनअनुसार नजिक बस्नेहरुमा पनि मुटु, फोक्सो क्यान्सर तथा श्वासप्रश्वासजन्य रोगको जोखिममा अत्यधिक रहेको देखाएको छ। यसरी सेवन गर्नेमध्ये ८५ प्रतिशत मानिस नेपाल जस्ता अल्पविकसित मुलुकका छन्।

सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि सरकारले २०६८ सालमै सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन ल्याएको छ। स्वास्थ्य सेवा विभागले आर्थिक वर्षको २०७२ र ०७३ को प्रतिवेदनमा नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगहरु अत्यधिक रहेको र यी रोग निम्त्याउन सूर्तिजन्य पदार्थको प्रमुख भूमिका रहेको उल्लेख छ।

मुटु रोगको पनि प्रमुख कारण
नसर्ने रोगमा पनि सूर्तिजन्य पर्दाथको सेवनले मुटु रोग, क्यान्सर र मस्तिष्कघात रोगी बढाइरहेको चिकित्सकहरु बताउँछन्। सूर्तीजन्य पदार्थले मुख, घाँटी, श्वास–प्रश्वास सम्बन्धी रोग निमोनिया, ब्रोङ्काइटिस, दम, मुटु, मिर्गाैैला, नशासम्बन्धी रोग  निम्त्याउने गरेको छ।

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार ४० वर्षभन्दा कम उमेरमा मुटुरोग हुने एक प्रमुख कारक सूर्तिजन्य पदार्थको सेवन रहेको बताउँछन्। उनी भन्छन्, ‘चुुरोट तथा सूर्तीजन्य पदार्थ सेवन गर्नेहरुको मुटु र रक्तनलीसम्बन्धी रोगहरु प्रमुख समस्याका रुपमा देखा परेको छ।

निकोटिनयुक्त चुरोट तथा सूर्तीजन्य पदार्थको सेवनपछि यसको असर फोक्सो भएर जान्छ। र, रक्तनलीको भित्तामा यसले विभिन्न किसिमको रियाक्सन पैदा गर्छ। रक्त सञ्चालन प्रक्रियामा परिवर्तन आउँछ। रगतको क्लटिङ प्रक्रियामा परिवर्तन आउँछ। रक्तनलीहरुलाई खुम्च्याउने प्रक्रियाहरु बढ्दै जान्छ। रक्तप्रवाह अवरोध पैदा हुने र हृदयघात हुने, क्लटिङ हुने सम्भावना हुने स्वास्थ्यकर्मीहरु बताउँछन्। -स्वास्थ्य खबरपत्रिका