माघ २५,
काठमाडौँ -राष्ट्रिय सभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो ।
यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो ।
उहाँले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
यसैगरी सभाका सचिव राजेन्द्र फुँयालले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई प्रतिनिधिसभाबाट पारित भएको जानकारी गराउनुभएको थियो ।
सभाको अर्को बैठक माघ २९ गते बिहान ११ बजे बस्नेछ ।-रासस













