जो करोडौं लिएर स्वर्ग गए !

69

माघ २४,
बीबीसी । क्रिप्टोकरेन्सी भनिने भौतिक अस्तित्व नभएको डिजिटल मुद्रा खतरापूर्ण नै मानिन्छ तर क्यानडाको घटनाक्रमले भने नयाँ जोखिम देखाएको छ। क्वाडरिगा नामक क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूको लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा गायब हुने देखियो। कारण थियो झण्डै छ अर्ब १३ करोड नगदसहित सो मुद्रा कहाँ छ भनेर थाहा पाउने पासवर्डका बारेमा कोहीसँग जानकारी थिएन। खासमा त्यो खजानाको साचो गएको डिसेम्बरमा भारत भ्रमणका क्रममा अचानक मृत्य् भएका क्वाडरिगाका स‌‌ंस्थापक गेराल्ड कोटेनसँगै स्वर्ग गएको हुनसक्छ। तीस वर्षीय कोटेन एक्लैले क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन जिम्मेवारी लिएको कम्पनीले बताएको छ। क्वाडरिगा कम्पनीले क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतलाई बताए अनुसार अरबौं मुद्रा कहाँ छन् भनेर पत्ता लगाउन सकिएको छैन।

क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल मुद्रा हो
कोटेनकी विधवा जेनिफर रोबर्टसनले आफ्नो पतिले क्वाडरिगासम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफुलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी छिन्। पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले केही लेखेको कुरा पत्ता लगाउन सकेकी छैन, उनले अदालतलाई दिएको बयानमा लेखेकी छिन्। क्रिप्टोकरेन्सी संस्थापक पासवर्डसहित मरेपछि १५ अरब रुपैयाँ बराबरको साइबर मुद्रा गायब, 

विलम्ब र समस्या
पाँच वर्ष पहिले स्थापना भएको क्वाडरिगा गएको वर्ष आर्थिक समस्याग्रस्त भएको थियो। क्यानेडाली टिभी सीएनबीसीका अनुसार कम्पनीमा तरलता समस्या आएको थियो र यो वर्षको शुरुवातमै सीआईबीसी ब्याङ्कले एक अर्ब ७५ करोड रोक्का गरेको थियो। गएको हप्ता कम्पनीले आफ्नो मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर गरेको थियो।

क्यानडामा सन् २०१३ मा पहिलो क्रिप्टोकरेन्सी एटीएम स्थापना भएको थियो, क्वाडरिगाका एक लाख १५ हजार सदस्य छन् जसमा व्यवसायिक लगानीकर्तादेखि बचत गर्ने सामान्य नागरिकहरू समेत छन्। विज्ञहरूका अनुसार उनीहरूको लगानी सुरक्षित हुने सम्भावना निक्कै कम छ। मानिसहरूले मलाई पत्र र फोनमार्फत आफ्नो अवकासपछिका लागि बचत गरेको पैसा गुमेको भनिरहेका छन्, डिजिटल फाइनान्स इन्स्टिट्युटका संस्थापक अधिवक्ता क्रिस्टिन डुहाइमले सीबीसी टिभीलाई भनिन्। क्वाडरिगा पुरानो कम्पनी थियो र मानिसहरूले यसलाई सुरक्षित मानेका थिए।

भारतको जयपुरमा सामाजिक कार्यका लागि भ्रमण गरिरहेका कोटेनको मृत्यु भएको भन्ने खवर कम्पनीको वेबसाइट र फेसबुक पेजमा राखिएको थियो। जयपुरमा कोटेन अनाथालय खोल्न चाहिरहेको बताइएको थियो। उनको पाचन प्रणालीमा आएको गम्भीर समस्याका कारण मृत्यु भएको बताइएको छ।