‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ’ ;प्रकाशमान सिंह

82


माघ २१,
काठमाडौं -नेपाली कांग्रेसका नेता तथा प्रकाशमान सिंहले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत भएको कांग्रेसलाई कमजोरी नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका छन्। कांग्रेस जिम्मेवार तरिकाले संसदमा प्रस्तुत हुँदा कांग्रेसलाई सिद्धियो भन्ने खालका टिप्पणी गरेर कमजोर नठान्न उनले आग्रह गरे। ‘यसो गरेमा तपाईंहरुको सरकारले कुन दिन बिदा लिन्छ भन्ने कुरा जनताले जवाफ दिनेछन्,’ उनले भने, ‘कांग्रेसले विधिको शासनमा विश्वास गर्ने भएकाले कानुनी राज्यका लागि नै हामी अघि बढ्छौँ।’ उनले सरकार कानुनी शासन उल्लंघन गर्नेतर्फ अघि बढेको बताए। जनताको केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्टले नेपालमा जनवादी केन्द्रीयता लागू गर्न खोजेको बताए। ‘प्रदेशलाई अधिकार नदिएको विषय यसका उदाहारण हुन्,’ उनले भने, ‘संघीयतालाई लागू गर्न आनाकानी गरिएको छ।’ साथै उनले चिकित्सा शिक्षा विधेयक पास गरेर केही माफियालाई पोस्ने काम गरेको बताए। साथै उनले वाइडबडी प्रकहरणलाई कांग्रेसले नबिर्सिएको र सशक्त ढंगले अघि बढाउने बताए। सरकारको विरोध गर्न कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने क्रममा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको समेत आरोप लगाए।

‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ,’ उनले भने, ‘संविधान कार्यान्वयन कम्युनिष्टले नसके कांग्रेसले कार्यान्वयन गर्छ।’