Tuesday, September 29, 2026
Home प्रदेश ‘माफिया सरकार मुर्दावाद’, लेखेको घटना प्रति कर्णाली सरकार बाट विज्ञप्ति जारी

‘माफिया सरकार मुर्दावाद’, लेखेको घटना प्रति कर्णाली सरकार बाट विज्ञप्ति जारी

170

माघ १८,
सुर्खेत; कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारी गाडीमा बिहीवार ‘माफिया सरकार मुर्दावाद’ लेखेको घटनाप्रति कर्णाली सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएकी छन्। प्रदेश राजधानी सुर्खेतस्थित मध्यपश्चिममाञ्चल विश्वविद्यालयको स्कुल अफ लमा बिएल एलएलबी कार्यक्रमको उद्घाटन गर्न त्यहाँ पुगेको बेला मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार मुर्दावाद, नेविसंघ’ लेखिएको थियो। विज्ञप्तिमा सवारीमा प्रयोग भएको गाडीलाई लक्षित गरी अराजक समूहले गरेको अवाञ्छित गतिविधिप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको बताइएको छ। ‘मुख्यमन्त्रीज्यू कार्यक्रममा सरिक भइरहेको र गाडी पार्किङ गरिएको अवस्थामा भएको यस्तो अराजनीतिक कार्य लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्नेहरुका लागि लज्जाजनक रहेको छ।’ विज्ञप्तिमा उल्लेख छ। यस्तो अराजनीतिक, उदण्ड र अराजक क्रियाकलापको निन्दा गर्दै उक्त क्रियाकलापमा सहभागी व्यक्तिहरुको खोजी कार्य भइरहेको र कानुनी कारवाहीका लागि सम्वन्धित निकायलाई निर्देशन गरिएको जननाइएको छ।                                                                                                                -थाहाखबर