Monday, September 21, 2026
Home पत्रपत्रिका किसानका पीडाः पसिनाले पाएन बजार, तोरीजस्तै फुल्यो काउली

किसानका पीडाः पसिनाले पाएन बजार, तोरीजस्तै फुल्यो काउली

118

नयाँ पत्रिका दैनिक अजित अधिकारी/विनोद बिष्ट
माघ १४,
काभ्रेको नमोबुद्ध नगरपालिका–५, पात्लाका किसान ईश्वरी पौडेलले ६ रोपनी जग्गामा लगाएको काउलीले उचित मूल्य नपाएपछि बारीमै फुलाएर छाडेका छन् । करिब चार लाख मूल्यबराबरको काउली अहिले घरमा रहेका दुईवटा भैँसीलाई खुवाइरहेको उनले बताए । उनको खेतमा ११ हजार काउलीका बोट छन् । भदौमा लगाएको काउली कात्तिक अन्तिम साता फलेर खानयोग्य भएको थियो । आफूले उत्पादन गरेको काउली बिक्री गर्न उनले काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका थोक विक्रेतासँग सम्पर्क राखेका थिए । व्यापारीले प्रतिकिलो ११ रुपैयाँका दरले किनिदिने बताएको उनले जानकारी दिए । ‘त्यतिखेर बजारभाउ प्रतिकिलो ४०–४२ रुपैयाँभन्दा बढी थियो, मैले २०–२५ रुपैयाँमा किनिदेउ भन्दा पनि कुनै व्यापारीले मानेनन्,’ पौडेलले भने, ‘प्रतिकिलो ११ रुपैयाँमा दिएर व्यापारीलाई धेरै नाफा खान दिनुभन्दा बारीमै कुहाउँछु भनेर कसैलाई दिइनँ ।’ उनले बारीमा छाडेको काउली अहिले फुलेर पहेँलो भएको छ ।

उनले कात्तिकमा लगाएको काउली बेमौसमको हो । ‘बढी पैसा आउँछ भनेर बेमौसमी काउली लगाएको थिएँ, तर एक रुपैयाँको पनि बिक्री गर्न सकिनँ,’ उनले दुखेसो पोखे । ६ रोपनीमा लगाएको काउलीले उचित भाउ नपाएपछि मंसिर पहिलो साताबाट घरमा रहेका दुईवटा दुधालु भैँसीलाई नियमित रूपमा खुवाइरहेको उनले जानकारी दिए । ‘दिनमा दुई भारीका दरले भैँसीलाई काउली खुवाइरहेको छु,’ पौडेलले भने । यो काउली बिक्री भएको भए करिब चार लाख रुपैयाँ उनलाई हाता लाग्ने थियो । तर, काउली बिक्री नभएपछि सोही जग्गाको आधा भागमा मकै रोपेका छन्, तर काउली उखेलेका छैनन् । हुर्केको मकैले काउली छोपिएको छ । त्यहीँबाट काउलीको बोट काटेर भैँसीलाई खुवाइरहेको उनले बताए । पौडेल ०४९ सालदेखि खेती–किसानी गरिरहेका छन् । अहिलेको जस्तो काउली बिक्री नभएर भैँसीलाई खुवाउनुपरेको उनलाई सम्झना छैन । ‘मैले अहिलेसम्म खेती गर्दा पहिलोपटक यो वर्ष काउली बिक्री नभएर फाल्नुप¥यो । केही समयअघि फर्सीसमेत बिक्री गर्न साह्रै समस्या भयो । व्यापारीले प्रतिकिलो १० रुपैयाँभन्दा बढी दिँदै दिएनन्,’ उनले भने ।