‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि धुर्मुस र सुन्तली सद्भावनादूत

212

विराटनगर, १३ माघ
प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज यहाँ सम्झौता भएको छ ।

एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ जीनवशैली प्रवद्र्धनसम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने, स्वस्थ जीवनका लागि खानपान, सरसफाइ र योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सद्भावनादूतले “एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार”,“मेरो फोहर म आफैँ सफा गर्छु”, “समुदायको सरसफाइमा मेरो दायित्व” जस्तानारासहित दैनिक जीवन पद्दति, व्यवहार, सरसफाइ, पोषण आदिलाई जोडेर स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई स्वस्थ र समृद्ध बनाउन सरकार शुरु देखि नै प्रयत्नशील भएको बताउनुभयो । यी कलाकारले हात, भान्सा, सफा पानी र हात धुने काममा प्रभावकारी रूपले आम नागरिकलाई प्रशिक्षित गर्नेछन् भन्दै स्वस्थ नागरिक निर्माण गर्न यो अभियानले महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो ।
रोग लाग्न नदिने उपायको खोजी गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लागि सकेपछि नागरिकको निकै जनधनको क्षति हुने भएकाले यसमा उनीहरू पनि सचेत रहनुपर्नेमा जोड दिँदै ‘स्वास्थ्य प्रवद्र्धन वर्ष–२०७५’लाई मूर्त रुप दिन सबैजना खानपिन, सफाइ र व्यायाममा केन्द्रित हुनुपर्छ भन्नुभयो ।- रासस