ललितपुर, ८ माघ
नेपालका आवास मास्के र हरेराम श्रेष्ठ जापानको क्यूटेक विश्वविद्यालयमा ‘बर्ड–३’ भू उपग्रह निर्माण परियोजनामा व्यस्त हुनुहुन्छ । नेपालले आउँदो वैशाखमा ‘नेपाली क्यूबसेट स्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गर्दैछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट विद्युतीय इञ्जिनीयरिङ उत्तीर्ण श्रेष्ठ हाल जापानमा स्पेस इञ्जिनीयरिङ अध्ययन गर्दै ‘बर्ड–४’ निर्माणको तयारीमा हुनुहुन्छ । त्यसैगरी मास्के जापानमा ‘बर्ड–३’ परियोजना प्रमुखका रुपमा काम गर्दै स्पेस इञ्जिनीयरिङमा विद्यावारिधि पनि गर्दै हुनुहुन्छ ।
जापानमा निर्माण भएको भूउपग्रह अमेरिकाबाट नेपालले प्रक्षेपण गर्नुपूर्व श्रेष्ठ र मास्केको नाम नेपालमा अगाडि आइसक्यो । नेपालको भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ । तीनै भूउपग्रह एक हजार घनसेमीकोे हुने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
“क्यूटेक विश्वविद्यालयबाट जापान, नेपाल र श्रीलङ्काले एकैसाथ भूउपग्रह निर्माण गरेको छ, यी तीन वटा भूउपग्रह प्रक्षेपण अमेरीकाबाट एकैसाथ हुँदैछ”, ढकालले भन्नुभयो, “क्यूसु विश्वविद्यालयले जापानमा नेपालको अपनत्व दर्शाउन सस्तो दरमा भूउपग्रह निर्माण गरी सहयोग पु¥याएको छ ।” बाह्र कक्षापछि एक वर्षको खोज र अध्ययनबाट मास्के स्पेस इञ्जिनीयरिङ गर्न दक्षिण कोरिया जानुभयो । त्यसैगरी जापानको सहयोगमा ‘बर्ड–४’ निर्माणका लागि निःशुल्क छात्रवृत्ति श्रेष्ठ प्राप्त गरी स्नातक अध्ययनमा जुट्नुभएको छ ।
मास्के र जापान
मास्के २०४७ साल फागुन ४ गते पिता रमेशकुमार र माता सरिताको कोखबाट विराटनगरमा जन्मनुभयो । रमेश विराटनगर बस्दा पानीघट्टबाट बिजुली निकाल्ने काम गर्नुहुन्थ्यो । “त्यसै क्रममा आवास पनि बाबुसँगै पानीघट्टमा बिजुली निकाल्न जान्थ्यो”, सरिताले भन्नुभयो, “सानै उमेरदेखि बाबुले गरेकोे कामको अनुसरण गर्ने छोराको बानी थियो, हठी स्वभावको आवास आफूले सोचेको काम पूरा गरेर छाड्ने स्वभावको छ, त्यसैले जापानको ‘बर्ड’ परियोजना प्रमुख बन्न सफल भयो ।”
मास्के परिवार अध्ययन र नोकरीका लागि काठमाडौंँ आयो । छोरो जन्मेको केही समयपछि रमेश र सरिता केही वर्षको फरकमा जर्मनी पढ्न गए । आवासले बाह्र कक्षा उत्तीर्ण भएपछि विदेश अध्ययनको तयारी ग¥यो । कोरियाको सिउल नेशनल यूनिभर्सिटीमा स्पेस इञ्जिनीयरिङ्तर्फको चारवर्षे बिई अध्ययन गर्ने मौका पाउनुभयो । सिउलमा पढ्दापढ्दै आवासले स्पेस इञ्जिनीयरिङको वर्कसपमा काम शुरु गर्नुभयो । उहाँले डेढ वर्ष पहिले स्पेस इञ्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूर्ण गरी घर फर्केपछि जापानको क्यूटेक विश्वविद्यालयमा स्पेस इञ्जिनीयरिङको अध्ययन र काम एकैसाथ हुने फेला पार्नुभयो ।
क्यूटेक विश्वविद्यालयले निर्माण गरेको ‘बर्ड –१’ र ‘बर्ड –२’ परियोजनाको खोजी गरी मास्के पुनः कोरिया फर्कनुभयो । कोरियाबाटै उहाँले क्यूटेक विश्वविद्यालयले लिने अन्तर्वार्ता उत्तीर्ण गरेपछि अमेरिका र जापान दुवै देशका नागरिक प्रा मायडासँग भेट भयो । मायडाले मास्केलाई नेपालले ‘बर्ड– ३’ भूउपग्रह निर्माण गर्नुपूर्व केही रकम जम्मा गर्नुपर्ने सल्लाह दिनुयो । त्यसपछि मास्के र मायडा नेपालमा स्पेस इञ्जिनीयरिङको वर्कसप गर्न आउनुभयो ।
सरिता, आवास र मायडा रकम सङ्कलन गर्ने प्रक्रियामा साविकको विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चार र अर्थ मन्त्रालय धाउनुभयो । मन्त्री र सचिवहरुसमक्ष उहाँहरुले स्पेस इञ्जिनीयरिङको परियोजना अघि सार्नुभयो । त्यसबेला नाष्टका तत्कालीन उपकुलपति जीवराज पोख्रेल र तत्कालीन राज्यमन्त्री विराज विष्टले स्पेस इञ्जिनीयरिङको प्रस्ताव बनाएर आउन उहाँहरुलाई आग्रह गर्नुभयो । मन्त्रालयमा प्रस्ताव पेश भएपछि राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य स्वर्णीम वाग्ले र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव वैकुण्ठ अर्यालले सकारात्मक जवाफ दिनुभएको बताइएको छ ।
मन्त्रालयले नाष्टसँग सम्झौता गर्न उहाँहरुलाई सल्लाह दियो । नाष्ट र क्यूसु विश्वविद्यालयबीच सम्झौता गर्न नाष्टका उपकुलपति पोखरेल जापान जानुभयो, त्यसपछि नेपाल र जापानबीच ‘बर्ड–३’ परियोजना निर्माण गर्ने सम्झौता भयो ।
क्यूटेक विश्वविद्यालय र स्पेस इञ्जिनीयरिङको महत्व नेपालीले पनि जान्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरुलाई जापान बोलाइएको थियो । जापानबाट नेपाललाई रकम जोहो गर्न चिठ्ठी आएपछि आवास, सरिता र मायडा मन्त्रालय, नाष्ट र राजस्व कार्यालय २१ दिन धाउनुभयो । दश दिन बिदा मिलाएर नेपाल आउनुभएका आवास र मायडाले २१ दिनपछि रु एक करोड ११ लाख लिएर जापान जानुभयो, यसरी आवास हाल आवास ‘बर्ड–३ परियोजना प्रमुखका रुपमा काम गर्दै हुनुहुन्छ ।
दोस्रो चरणको रकम लिने काममा नाष्टका हरेराम र सरिता लाग्नुभयो । पाटनको राजस्व कार्यालयले कर काटी दोस्रो चरणको रकम दियो । नेपालले रु दुई करोड लगानी गरेपछि क्यूटेकमा नेपालका हरिरामलाई अध्ययन गर्ने अवसर मिल्यो । पत्र आएको आठ महिनापछि हरिराम जापान जानुभयो । “वैशाखमा हुने भूउपग्रह प्रक्षेपणपछि आवासले जापानबाटै विद्यावारिधि समाप्त गर्छ”, सरिताले थप्नुभयो, “त्यसपछि आवासको सपना नेपालका इच्छुक विद्यार्थीलाई स्पेस इञ्जिनियरिङ अध्ययन गराउने छ । ”
श्रेष्ठ र नाष्ट
हरिरामको जन्म २०४३ साल कात्तिक ८ गते गोरखाको पालुङटार ४ बडडाडाँमा बुवा राम र आमा शान्त्तारामको कोखबाट भयो । उहाँले ६ कक्षा सम्मको अध्ययन गोरखाको अमर ज्योति जनता मावि, प्रवेशिका हेटौँडाको सिद्धार्थ मावि, इेलक्ट्रिकल इञ्जिनीयरिङमा बिई वीरगञ्जको इन्सिटच्यूट अफ टेक्नोलोली, चारवर्षे इलेक्ट्रोनिक एण्ड कम्यूनिकेशन इञ्जिनीयरिङ कलेज अफ इन्फर्मेशन एण्ड टेक्नोलोलीबाट गर्नुभएको हो ।
जापान जानुपूर्व हरिरामले नाष्टमा आठ वर्ष प्रमुख प्राविधिक नायब सुब्बाका रुपमा काम गर्नुभयो । नाष्टमा रहँदा श्रेष्ठले साइन्स टिचर टेनिङ प्रोग्राम प्रोजेक्टमा काम गर्नुभयो । क्यूसुले नेपालमा ‘बर्ड–३’ को परियोजना ल्याएपछि संयुक्त राष्ट्र सङ्घको पूर्ण सहयोगमा हरिराम स्पेस इञ्जिनीयरिङमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । नाष्टका प्रविधि सङ्काय प्रमुख ढकालले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घको खुला संस्था(यूनेसा)को सहयोगमा सस्तो मूल्यमा नेपालले भूउपग्रह निर्माण गर्न लागेको यो पहिलो पटक हो ।”-रासस