Saturday, October 10, 2026
Home खेलकुद १२ वर्षपछि पहिलो पटक महिला सिनियर टोली फाइनलमा

१२ वर्षपछि पहिलो पटक महिला सिनियर टोली फाइनलमा

36

काठमाडौं, माघ ४
नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। नेपालले ५ रन अतिरिक्त दिएको थियो। ४ इन्डोनेसियन खेलाडी शून्यमा आउट भएका थिए।

इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गरिन्। ३ ओभर बलिङ गर्दै २ मेडनसहित २ रन खर्चिएर उनले ३ विकेट लिइन्। यस्तै सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्।

यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन्।

ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्। कप्तान रूविनाले २ रन बनाइन्।

यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो।

यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन।

सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।

यस्तै महिला टी-२० विश्वकप छनोटको एशिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो।

समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।

यो ट्वान्टी-२० स्म्यास प्रतियोगिता आईसीसीको आधिकारिक प्रतियोगिता होइन। फागुनमा थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगितामा सहभागिता जनाइरहेको हो।