रेल चढेर बेइजिङमा किम जोङ उन

87

एजेन्सी
बेइजिङ, पुस २४ :उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका छन्।समाचार संस्था रोयर्टर्सले मंगलबार बिहान बेइजिङमा भारी सुरक्षाका साथ मोटरकेड देखिएको र यो किमको हुनसक्ने बताएको छ।

यसअघि सोमबार चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले किमले उत्तर कोरियाको भ्रमण गर्न लागेको बताएका थिए। चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा किमको चीन भ्रमणमा आउने बताएको थियो। दक्षिण कोरियाका योन्ह्याप समाचार संस्थाले किम चढेको रेल सोमबार राति सवा १० बजे उत्तर कोरियाको सीमा कटेर चीन पुगेको जनाएको छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा राष्ट्रपति सीसँग वार्ता गर्न किम बेइजिङ पुगेको बताइएको छ।

यसअघि नयाँ वर्षको २०१९ को शुभकामना सन्देशमा नेता किमले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध नहटाए आफूले अर्को बाटो लिने चेतावनी दिएका थिए। किम बिहीबारसम्म चीनमा रहेनछन्। उनको भ्रमण दलमा पत्नी री सोल जुसकित अन्य उच्च अधिकारीहरू सभागी छन्।

यसअघि सन् २०१८ मार्चमा पनि किम रेल चढेर बेइजिङ आएका थिए। त्यो उनको पहिलो विदेश भ्रमण थियो। गत वर्ष नै किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनसँग पटकपटक वार्ता गरेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा शिखर वार्ता गरेका थिए।

राष्ट्रपति ट्रम्पसँगको वार्तापछि उत्तर कोरिया आणविक कार्यक्रम परित्याग गर्न सहमत भएको थियो। नयाँ वर्षको सन्देशमा नेता किमले अनआणविकीकरणलाई सफल बनाउन आफ्नो देशमाथि लागेको प्रतिबन्ध हटाउनु पर्ने सन्देश दिएका थिए।

किमले यही वर्ष दक्षिण कोरियाको पनि भ्रमण गर्ने बताइएको छ। तर मिति भने टुंगो लागेको छैन।