उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

87

सोल । उत्तर कोरियाले मङ्गलवार पनि दुई वटा छोटा दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ। दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो ।

उत्तर कोरियाको बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी वासिङ्टन र सोलबीचको रक्षा सहयोग घनीभूत भएको छ । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा हतियारको होडबाजनी र परीक्षणको शृङ्खला तीव्र भएको छ ।

दक्षिण कोरियाका एक जना वरिष्ठ सैनिक अधिकारीका अनुसार आज प्रक्षेपण गरिएका क्षेप्यासत्र छ सय २० किलोमिटरसम्म उडेका थिए । उनले आफ्नो सैनिक दस्ताले निगरानी र सतर्कतालाई सुदृढ बनाएको बताएका छन् । जापान सकारका प्रवक्ता हिरोकाजु मात्सुनोले क्षेप्यास्त्र आफ्नो देशको जल क्षेत्रमा नखसेका बताएका छन् । यद्यपि उनले उत्तर कोरियाबाट थप उत्तेजक कारबाही हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । फ्रिडम शिल्ड नाउँको अमेरिका–कोरिया सैन्य अभ्यास आगामी १० दिनसम्म जारी रहने छ । अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ। उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ । प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवम् उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ ।