काँग्रेस महासमिति बैठकमा तनाव

133

पुस ३,

काठमाडौँ– काँग्रेस महासमिति बैठकमा तनावको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा तनावकाे अवस्था सिर्जना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव भएको थियो ।

‘म बोल्दै थिएँ । एकाएक डा महत आएर मेरो माइक खोस्न थाले । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ’ केसीले बताए । उनले विधान नआएसम्म बैठक अघि नबढ्ने भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको पनि दाबी गरे ।

महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए ।
त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ ।

यसैबीच प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बैठकमा केही असहज स्थिति सिर्जना भएको भएपनि तनावकाे स्थिति भने नभएको बताएका छन् ।
उनले अवस्थालाई सामान्य बनाउन सहमहामन्त्रीले सक्रियता देखाएकै बेलामा केसीले एकाएक माइक भाँचेको दाबी गरे । यही विषयलाई बढाइचढाई गरेर बाहिर प्रचार गर्ने काम भएको उनको दाबी छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो । तर, बैठक सकिने दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन । जसले गर्दा महासमिति सदस्यहरु आक्रोशित बनेका छन् । काँग्रेस महासमिति बैठक शनिबारदेखि राजधानीमा जारी छ ।