तपाईंकी श्रीमती के गर्नुहुन्छ ?

116

मंसिर २४,
डेढ वर्ष अगाडि म इलाममा कार्यरत थिएँ। घर परिवार सबै झापामा भएकाले प्रायः साप्ताहिक रूपमा झापा झर्थें। त्यस क्रममा एउटा गाडी, जुन गाडीमा म नियमित ओहोर–दोहोर गर्थें, ती गाडीवाला पहिले सहचालक थिए, पछि आफैँ ड्राइभर भएछन्। उनी अवकासप्राप्त सैनिक पनि रहेछन्। एक पटक गफै गफमा उनले मलाई सोधे– ‘हजुरको श्रीमान्चाहिँ के गर्नुहुन्छ म्याडम ?’ यो प्रश्न मेरा लागि नौलो थिएन। चाहे पहिलेदेखि चिनजान भएका व्यक्ति हुन् वा नयाँ परिचय भएका व्यक्ति हुन्, प्रायःको दोस्रो तथा तेस्रो नम्बरको प्रश्न हुन्थ्यो यो। मैले जवाफ दिएँ– ‘मेरा श्रीमान् घरमै बस्नुहुन्छ।’ उनलाई अझै जान्न मन लागेछ, ‘केमा जागिर गर्नुहुन्छ नि ?’ मैले फेरि सामान्य रूपमा सहज तरिकाले जवाफ फर्काएँ– ‘उहाँले घरव्यवहार सम्हाल्नुहुन्छ, छोरीको स्याहारसुसार गर्नुहुन्छ, घरमा गाइबाख्रा छन्, तिनको हेरविचार गर्नुहुन्छ अनि आमाबुबालाई सघाउनुहुन्छ।’ उनले फेरि पनि पत्याएनन् र अझै प्रस्ट हुन चाहे– ‘जागिर खाने महिलाका श्रीमान् पनि बेरोजगार हुन्छन् त ?’ गाडीमा अरू यात्री पनि थिए। प्रायः कुनै न कुनै कार्यालयका कर्मचारी भेटिन्थे। एक जना सायद जिल्ला वन कार्यालयका कर्मचारी हुनुपर्छ, उनलाई पनि मेरो जवाफ चित्त बुझेनछ कि क्या हो वा मेरो श्रीमान्को पेसा थाहा पाउन मन लागेर हो, ड्राइभरको कुरा र मेरो कुरालाई व्यालेन्समा राख्दै भने– ‘केही व्यवसायमा लाग्नुभएको छ होला। गाईपालन वा अन्य व्यावसायिक कारोबार सम्हाल्नुभएको होला, होइन र म्याडम ?’ म छक्क पर्छु– साँचो बोल्दा पनि पत्याउँदैनन्। फेरि उनीहरूलाई किन चासो भएको होला मेरा श्रीमान् के गर्छन्रु कति कमाउँछन् ? अनि मेरा श्रीमान्को कमाइबारे जानेर उनीहरूलाई के फाइदा हुने हो ? एक दिन कार्यालयकै कामले विभिन्न कार्यालयका कर्मचारी साथीहरूसँग सामूहिक अनुगमनको क्रममा निस्किएका थियौँ। सबै जनाबीच परिचय गरेर हामी गन्तव्यतिर जाँदै थियौँ। एक जनाले अर्कै कार्यालयकी म्याडमलाई सोध्नुभयो– ‘म्याडम, हजुरको साथीचाहिँ केमा इन्भल्भ हुनुहुन्छ ?’ सायद म्याडमलाई पनि धेरै जनालाई यसको जवाफ दिँदादिँदा वाक्क भएर होला– ‘हजुरको साथी केमा काम गर्नुहुन्छ भनेर तपाईंलाई कतिको प्रश्न आउँछ सररु’ भनेर उल्टै सोधिदिनुभयो। प्रश्न सोध्ने सरको अनुहारको रङ बदलिएको प्रष्ट देखिएको थियो। साँच्चै मेरो मनमा नि प्रश्न खड्किन्छ– के हामीलाई जस्तै पुरुषहरूलाई नि प्रत्येक मानिसले पहिलो भेटमै तपाईंकी श्रीमती के गर्नुहुन्छ भनी सोध्लान् त? कति महिलाहरू रहरले काम गर्दै छन् त कति बाध्यताले। कति एकल छन् त कति हिंसापीडित। कति महिलाहरू परिवार र समाजसँग लडेर जागिर खाइरहेका छन्। रहरले जागिर खाएका, घरपरिवार, श्रीमान्को साथ पाएर जागिर खाएका अनि श्रीमान् पनि आफूभन्दा राम्रै पदमा रहेर जागिर खाएका श्रीमतीलाई त ‘मेरो श्रीमान् यो काम गर्नुहुन्छ’ भनी गर्वले छाती फुलाएर जवाफ दिन सजिलै होला तर जसको श्रीमान् नै छैनन्, जो श्रीमानसँग मनमुटाव वा पारापाचुके भएर बसेका छन्, जसको श्रीमान् आफूभन्दा तल्लो पदमा कार्यरत छन् वा जागिरै नखाई बसेका छन् वा यस्तै केही छन् भने उनीहरूले कति जनालाई के भनेर जवाफ दिने होलारु मेरी एउटी साथी छन्, जसको श्रीमानसँग डिभोर्स भएको छ। उनकी एउटी छोरी पनि छन् र छोरीको भविष्य र आफ्नो लागि पनि अर्को विवाह नगरी जागरि खाँदै छन्। यस्तै प्रसंग निस्कँदा मैले सोधेँ– ‘तँलाईचाहिँ यस्ता प्रश्न कतिको आउँछन् र कसरी जवाफ दिन्छेस्रु’ उसले दिक्क मान्दै भनी– ‘म त हैरान भइसकेँ यो प्रश्नबाट, कतिलाई भन्नु मेरो आन्तरिक कुरारु’ एक दिन मात्र भेट भएर वर्षौं देखाभेट नहुनेले पनि सोधिदिन्छन् यस्तो प्रश्न। एक जना अविवाहित तर अवकाश हुन लागिसकेकी मेरा सहकर्मी पनि यो प्रश्न सुनेर अवाक् भइसकिछन्। एक दिन ठट्टा गर्दै साथीहरूमाझ सुनाइन्– ‘अबदेखि निधारमा सबैले देख्ने गरी मेरो विहे नै भएको छैन, त्यसैले कृपया मेरो श्रीमान्को पेसा के हो भनेर नसोधिदिनुहोला भनी लेखेर टाँसी हिँड्नुपर्ला जस्तो छ।’ हाम्रो समाज विस्तारै परिवर्तन हुँदै छ। वि।सं। २०१० तिर महिलाको साक्षरता दर ०।७ प्रतिशत मात्रै थियो भने २०७० सालमा ६२ प्रतिशत पुगिसकेको शिक्षा विभागको प्रतिवेदनले देखाएको छ। शिक्षामा यति धेरै प्रगति हुँदाहुँदै पनि हाम्रो परंपरागत सोच र धारणाले गर्दा होला, एकातिर अझै पनि अधिकांश पढेलेखेका महिलाहरू कमाउने काम त श्रीमान्को हो भनेर आफू घर भान्छामै सीमित छन् भने अर्कातिर सम्पन्न भनिएका परिवारका महिलाहरू आफू पनि स्वरोजगार हुन चाहने तर घर परिवारको कारणले काममा निस्कन नसक्नेको जमात पनि त्यतिकै छ।