मंसिर १०,
भक्तपुर । भक्तपुरको मध्यपुर नयाँ थिमिचोकमा भएको सडक दुर्घटनामा ६ ओटा सवारीमा क्षति पुग्नुको साथै तीन जना मानिस घाइते भएका छन् ।
मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ नयाँथिमि चोकको ट्राफिक टाइटमा रोकिरहेका सवारीमा बा. ७ च २३६० नम्बरको कारले दिएको ठक्करले अन्यमा सवारीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
उक्त सवारीले बा. १७ च ७५९९ मारुती सुजुकी, बा. ६० च ९३२४ स्कुटर, बा.३९ प १८७४ मोटरसाइकल, बा. ७३ प ३३९२ स्कुटर र बा. १५ च २३८२ स्करपियोमा क्षति पुगेको महानगरिय प्रहरी वृत थिमिका प्रहरी नायब उपरिक्षक मिलन केसीले जानकारी दिएका छन् ।
उक्त सडक दुर्घटनामा स्कुटर चालक विश्वराम बासुकला, मोटरसाइकल चालक रामभक्त लाखेमरु र मारुती सुजुकीमा सवार अनिल दुवाडी घाइते भएका छन् । ठक्कर दिने सवारीका चालक काटेश्वर बस्ने ४५ वर्षका सुजित सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको वृत्तका प्रमुख प्रनाउ केसीले जानकारी दिएका छन् । तस्विरः फेसबुक