प्याराग्लाइडिङको सफल परीक्षण

112

मंसिर ९,
इलाम । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो ।

सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभएको थियो । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाले भन्नुभयो । पर्यटकीय दृष्टिकोणले उपयुक्त मानिएको यस क्षेत्रका डाँडाकाँडाबाट आगामी दिनमा उडान गर्न सकिने समेत उहाँको भनाइ छ ।

शेर्पाले नाम्तोक डाँडाबाट करीब एक घण्टासम्म आकाशमा उडाएपछि घुर्बिसे पञ्चमी बजार नजिकै रहेको ठिङ्गेपुरको पाण्डवधारा नजिक अवतरण गर्नुभएको थियो । उहाँले यसअघि विभिन्न ३८ देशमा प्याराग्लाइडिङको उडान सफल गरेको बताउनुभयो । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको ६० हजार निजी लगानीमा प्याराग्लाइडिङ गराइएको हो । शेर्पाले पर्यटकीयस्थल कन्याम, गजुरमुखीमा समेत उडान गर्नुभएको थियो । रासस