मंसिर ५,
भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले सिंगो भक्तपुर जिल्लालाई सफा बनाउने अभियान अन्तर्गत एक महिने अरनिको राजमार्ग सफाई अभियान भोलीबाट सुरु हुने बताए ।
गैसस महासंघ भक्तपुरको एक कार्यक्रममा प्रतिनिधीसभा सांसद बस्नेतले भने “भोलीबाट एक महिने अरनिको राजमार्ग सफाई अभियान सुरु गर्दैछौ, हनुमन्ते खोलामा मात्रै होईन, अरनिको राजमार्गमा पनि अब फोहोर फाल्नेलाई पक्राऊ गरी कम्तीमा एक दिन हिरासतमा राखेर सजाय दिने नीति बनाएका छौ ।” फोहोर फाल्नेलाई सजाय दिने कानून नभए सार्वजनिक मुद्धा लगाएर भएपनि कारबाही गर्ने नीति लिएको उनको भनाई छ । यसबारेमा सिडिओ र प्रहरीसंग छलफल भईसकेको र गाडीबाट फोहोर फाल्ने व्यक्ति र चालकलाई समेत कारबाही गरिने बस्नेतको भनाई छ ।
गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले प्रकाशित स्मारिका गैससहरुको दस्तावेज भएको बताए । गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुर शाखाले आज आयोजना गरेको सुशासन स्मारिका सार्वजनिकीकरण एवं सम्मान कार्यक्रममा राससकर्मी गिरीलाई नगद पुरस्कार सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरीएको छ । सो अवसरमा पत्रकार रमेश गिरीलाई नगद रु. १५ हजार पुरस्कार सहित गैसस पत्रकारिता पुरस्कार प्रदान गरीएको छ ।