नेविसंघलाई महाधिवेशन गर्न अर्को तीन महिना थप

112

मंसिर २,
काठमाडौं– काँग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर महाधिवेशन गर्न निर्देशन दिने भएको छ । वर्तमान कार्यसमितिको म्याद छोटो समय थपेर अधिवेशन गराउने जिम्मेवारी दिन सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भैसकेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार सहमतिमै दुवै नेता वर्तमान कार्यसमितिलाई अधिवेशन गर्ने जिम्मा दिन तयार भएका हुन् । प्रवक्ता शर्माले बढिमा तीन महिनाभित्र अधिवेसन हुनेगरी मिति तय गर्ने पनि जनाए । नेविसंघको विधानअनुसार यसअघि २ वर्ष गुजारेर तीन महिना थपिएको म्याद पनि आजैबाट सकिँदैछ ।

थपिएको समयमा समेत संघको अधिवेशन गर्न नसकेको भन्दै नेविसंघका वर्तमान अध्यक्ष नैनसिंह महरविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेविसंघका नेताकार्यकर्ताले असन्तुष्टि जनाउदै आएका छन् । नेविसंघबारे निर्णय गर्न शनिबार बोलाएको काँग्रेस केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि आज बस्ने बैठकले निर्णय गर्न लागेको हो । नेविसंघले यसअघि १२ औं महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी काँग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन सकेका थिएनन् । पारित उमेरहदको निर्णयमा पनि रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी लगायतले नोट अफ डिसेन्ट जनाएका थिए ।

नेसिंघको पारित हुन विधानका बाँकी विषयमा पनि आजको केन्द्रीय समितिमा छलफलका हुने काँग्रेस प्रवक्ता शर्माले जानकारी दिए । नेविसंघको महाधिवेशन समयमा हुन नसकेपछि सभापति शेरबहादुर देउवापक्ष पुरानै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउने पक्षमा उभिएको थियो भने रामचन्द्र पौडेलपक्ष विधानअनुसार वर्तमान कार्यसमिति भंग गरेर तदर्थसमिति गठन गरी तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मा दिनुपर्ने पक्षमा उभिएको थियो । -रातोपाटीबाट