श्रीमतीद्वारा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता

194

कार्तिक १२,
कञ्चनपुर । कञ्चनपुरमा महिला र बालिकामाथि हत्या, बलात्कार तथा हिंसा बढिरहेको बेला एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् । भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर जोशीविरुद्ध मुद्दा दिएकी हुन् । मञ्जुले श्रीमानले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै उजुरी दिएको कञ्चनपुर प्रहरीले जनाएको छ । सोमबार करणीअर्न्तरगत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले डेढ वर्षअघि भागी विवाह गरेका थिए । यसैबीच गर्भवती भएकी मञ्जुले महाकाली अञ्चल अस्पतालमा एक हप्ताअघि गर्भपतन गराएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले मुद्दा दर्ता भए लगत्तै डम्बरलाई पक्राउ परेको बताए । उनका अनुसार घटनाको अनुसन्धान गर्न आदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । ‘नयाँ कानुन लागू भएपछि कञ्चनपुर यस्तो मुद्दा दर्ता भएको हो,’ डिएसपी ओझाले भने, ‘घटना बारे विस्तृत अनुसन्धान गछौँ ।’ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको ९४० उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ । -nayapatrika