असोज १७,
कामाडौं । नेकपाका सहअध्यक्ष प्रचण्डले काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग गुप्त भेटघाट गर्नु र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु संयोग मात्र भए पनि संयोग मात्र नभएको आशङ्का गर्न थालिएको छ । केपी ओली नेतृत्वको सरकारले सात महिनामा कुनै सकारात्मक उपलब्धि हासिल गर्न नसकेको र सरकारकै कारण आमजनतामा निराशा पैदा हुन थालेका बेला सत्तारुढ पार्टीका नेताहरू सरकारलाई सफल बनाउनभन्दा असफल सिद्ध गरेर आन्तरिक विकल्प खोज्ने मानसिकतामा देखापरेका छन् । केपीलाई फकाउने, तर्साउने, छक्याउने र काम पट्याउने भूमिकामा देखापरेका प्रचण्डले माधव नेपाल र केपीबीच उत्पन्न मतभेदबाट पनि लाभ उठाउने मानसिकता बनाएका छन् । केपीको शैली र सरकारको कामबाट चरम असन्तुष्ट रहेका प्रचण्डले गत साता (असोज ९ गते मंगलबार) केही सम्पादकहरूलाई आफ्नो निवासस्थानमा बोलाएर भनेका थिए, ‘सरकारको काम सन्तोषजनक छैन, म यो विषयलाई लिएर पार्टीभित्रै छलफल अघि बढाउँछु, आन्तरिक प्रयासले परिणाम निस्कने देखिएन भने कुन विकल्पमा जाने भन्ने सोचिन्छ, तर म पहिलेझैँ हतार गर्ने छैन ।’ ओलीको सीधै आलोचना गर्न प्रचण्ड सचेत देखिए, तर आफू सरकारको कामप्रति सन्तुष्ट नरहेको सङ्केत भने राम्रैसँग दिए ।
अघिल्लो दिन सम्पादकहरूसँग सरकारको विकल्प खोज्न हतार नगर्ने बताएर भोलिपल्ट बिहान प्रचण्ड बुढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास स्थानमा पुगे । रुघा लागेर ‘गम्भीर बिरामी’ भएका देउवासँग भेटेर प्रचण्डले स्वास्थ्य स्थिति सोध्न बिर्सिए पनि केपी र उनको सरकारबारे असन्तुष्टि प्रकट गर्नचाहिँ बिर्सिएनन् । आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको बताउँदै प्रचण्डले केही समयपछि सर्वपक्षीय सरकार गठनको निम्ति पहल हुन सक्ने सङ्केत दिए । सर्वपक्षीय सरकार गठनको नारा भनेकै वास्तवमा त्यो ‘एमाले’बाहेककाहरूबीचको गठबन्धन सरकार हो र त्यस्तो सरकार आफ्नो नेतृत्वमा मात्र गठन हुन सक्ने विश्वास प्रचण्डमा रहेको छ । भारत भ्रमणबाट उत्साही भएर फर्किएका प्रचण्ड चीनबाट निराश भए पनि आफ्नो हातमा शक्ति पार्न उनी अनेक ढङ्गले सक्रिय भएका छन् । वामदेव गौतमलाई उचालेर संसदमा पुऱ्याउने प्रयास गर्नु, माधव नेपालले सरकारको आलोचना गर्ने परिस्थिति बनाउनु र देउवासँग विशेष भेटवार्ता गर्नुलाई प्रचण्डको खेलका रूपमा हेरिएको छ ।
भारत भ्रमणबाट उत्साही भएर फर्किएका प्रचण्ड चीनबाट निराश भए पनि आफ्नो हातमा शक्ति पार्न उनी अनेक ढङ्गले सक्रिय भएका छन् । वामदेव गौतमलाई उचालेर संसदमा पुऱ्याउने प्रयास गर्नु, माधव नेपालले सरकारको आलोचना गर्ने परिस्थिति बनाउनु र देउवासँग विशेष भेटवार्ता गर्नुलाई प्रचण्डको खेलका रूपमा हेरिएको छ । केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिरसमेत मोर्चाबन्दी गर्ने–गराउने ‘म्यान्डेट लिएर बसेका’ प्रचण्डले आगामी तीन महिनापछि ओलीको विस्थापनका निम्ति विशेष अभियान शुरु गर्ने तयारी गरेको प्रचण्डका निकटवर्तीहरूबाट थाहा भएको छ । शेरबहादुर देउवासँग सर्वपक्षीय सरकार गठनबारे मानसिकता बनाउन सुझाव दिएकै दिन प्रचण्ड आफ्नी पत्नी सीताको उपचार गराउने भन्दै सिङ्गापुरतर्फ लागेका थिए । उनको भ्रमणखर्च कुख्यात व्यापारी सतिसलाल आचार्य र उनका भाइले व्यहोरेका छन् । ज्ञातव्य छ, एनसेलका साझेदार सतिसाललाई प्रचण्डको एक मुख्य व्यापारिक पार्टनरका रूपमा पनि लिइन्छ । गत साता प्रचण्डका कुरा सुनेपछि आफूहरूले केही गर्दै नगरे पनि कम्युनिस्ट पार्टीभित्र अन्तरसङ्घर्ष चर्कने र घुमिफिरी आफ्नो पालो फेरि आउने आशा देउवामा पलाएको महसुस उनका निकटवर्तीहरूले गरेका छन् । तर, अहिलेसम्मको स्थिति हेर्दा नेकपाभित्र प्रचण्ड ‘कम्फर्टेबल’ अवस्थामा देखिँदैनन् । उनको प्राथमिकता पार्टी अध्यक्ष हो र शक्तिकेन्द्रका रूपमा रहिरहन वा प्रधानमन्त्री बन्नका लागि पनि पार्टीको एकलौटि अध्यक्ष आफैँ बन्नुपर्छ भन्ने सोच प्रचण्डमा रहेको छ । जब कि प्रचण्डलाई सजिलैसँग कम्युनिस्ट पार्टीको एकलौटि नेतृत्व सुम्पिने पक्षमा उक्त पार्टीका अधिकांश नेताहरू देखिँदैनन् । कदाचित पार्टी विभाजन भयो भने पनि प्रचण्डलाई वामदेव गौतम र वर्षामान पुनलगायत केहीले मात्र साथ दिने अनुमान गरिन्छ ।
माधव नेपालले ज्यादा हातपाउ चलाएनन् भने केपीपछिको प्रधानमन्त्री र पार्टी अध्यक्ष नेपाल नै बन्ने सम्भावना प्रबल छ । आफ्नो हातमा पार्टी र राज्यको सत्ता परेन भने प्रचण्डले कुन विकल्प रोज्लान्, त्यो आजको राजनीतिमा मुख्य प्रश्न बनेको छ । जे होस्, नेपालमा दुईतिहाइ बहुमतकै सरकार गठन भयो भने पनि चल्न गाह्रो हुन्छ भन्ने पुष्टि गर्न कम्युनिस्ट पार्टीकै नेताहरू लागेका छन्, यसले मुलुकलाई कतातिर डोऱ्याउने हो प्रतीक्षाको विषय बनेको छ । -घटना र विचार- ghatanarabichar.com