असोज १७,
काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने घोषणाअनूरुप सहमति भएको आज एक वर्ष पुगेको छ । शीर्ष नेताहरुले पार्टी एकता गर्न २०७४ साल असोज १७ गते ६ बुँदामा हस्ताक्षर गरेका थिए । एकता घोषणा गर्ने सहमति भएको आठ महिनापछि पार्टी एकता घोषणा पनि भैसकेको छ । तर, एकतापछि बनेको मुलुकको सबैभन्दा ठूलो पार्टीको राजनीतिक दस्तावेज भने अहिलेसम्म बनेकै छैन ।
पार्टी एकतापछि मुल राजनीतिक दस्तावेज तयार गर्ने जिम्मेवारी सचिवालयले पाएको थियो । सचिवालयमा दुई अध्यक्षसहित नौ जना शीर्ष नेता छन् ।
‘राजनीतिक दस्तावेज बनाउनुपर्ने नेताहरु नै गुनासो र आरोप प्रत्यारोपमा उत्रेका छन् अनि कसरी बन्छ दस्तावेज’ एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘सायद चाँडै तयार होला ।’ सचिवालयले हालसम्म उक्त दस्तावेज बनाएर कार्यकर्तामाझ नपठाउदा धेरै नेता कार्यकर्ता अन्यौलमा परेका छन् ।उनीहरुले लामोसमयसम्म पनि नेकपाका नेता कार्यकर्ताले आफ्नो पार्टीकोे मुल राजनीतिक दस्तावेज पढ्न नपाउनु विडम्बना र दुर्भाग्य भएको गुनासो पनि गरेका छन् ।
‘ अहिलेसम्म आफ्नो पार्टीको राजनीतिक दस्तावेज कस्तो छ भनेर देख्न र पढ्न पाएको छैन’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टीको दस्तावेज अहिलेसम्म नबन्नु दुर्भाग्य हो, त्यहि दस्तावेजका आधारमा पार्टीका गतिविधि सञ्चालन गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । यसमा नेतृत्वको ध्यान गएको पाइदैन जुन विडमबना हो ।’