दुई सय महिला तथा बालबालिको उद्धार

188

भदौं २०,
बैतडी । पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२/७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो । आव २०७३/७४ मा २४ महिला र ४० बालबालिसहित ७३ जनाको उद्धार गरिएको थियो । आव २०७४/७५ मा ७० बालबालिका तथा १७ महिलासहित ८७ जनाको उद्धार गरिएको पालले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छोडेर रोजगारीका लागि भारत जाने गरेका छन् । “विद्यालको पोशाकमै मजदुरी गर्न भारत जाने गरेका छन्,” इन्चार्ज पालले भन्नुभयो, “भारतमा बेचविखनको डर रहेकाले सीमाबाटै घर फर्काउने गरेका छौँ ।” पढाइ खर्चको जोहो गर्न बिदाको समयमा भारत जाने विद्यार्थीको सङ्ख्या अत्यधिक रहेको छ । “चैत र वैशाखमा बढीजसो मजदुरी गर्न भारत जाने गरेका छन्,” उहाँले भन्नुभयो । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका र किशोरकिशारी रहेका छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहलहैमा घरबाट भागेर भारत जाने गरेको पाइएको छ ।