बेपत्ता कारीदेवीको शव भेटियो

122
सांकेतिक तस्विर

भदौं ९,
सिरहा । गोलबजार नगरपालिका–१० चोहर्वास्थित घरबाट हराइरहेकी ५५ वर्षीया कारीदेवी यादवको शव शनिबार बिहान भेटिएको छ। उनको शव नरहा गाउँपालिका–१ देवीपुरका रामदेव यादवको बाँसघारीमा गाडेको अवस्थामा फेला पारेका हुन्। कारीदेवी १६ दिनदेखि बेपत्ता थिइन्। कारीदेवी घरबाट नै बेपत्ता भएपछि खोजी गर्दै देवीपुर पुगेको गाउँलेको समूहले देवीपुरका रामदेवको खेतबारी र बाँसघारीमा खोज्ने क्रममा शनिबार बिहान शव गाडिएको अवस्थामा भेटेका हुन्। खोजी गर्ने क्रममा आलो माटो देखेपछि खनेर हेर्दा महिलाको शव भेटिएको स्थानीय रामकेवल मण्डलले बताए। उनले भने, ‘कपडाको आधारमा शव कारीदेवीकै हो भन्ने ठम्याइ छ।’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार बाँसघारीमा महिलाको शव भेटिएको सूचना पाए लगत्तै प्रहरी उपरीक्षक जीवन श्रेष्ठको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको र शव उत्खनन् गरेपछि मात्र कसको शव हो भन्ने यकिन भन्न नसकिने बताए। यस्तो थियो विवाद करीदेवी र उनका जेठाजु रामदेव यादवबीच अंशसम्बन्धी मुद्दा थियो। जिल्ला अदालत सिरहाले गत जेठ २४ मा कारीदेवीको पक्षमा फैसला ग¥यो। यसपछि रामदेव पुनः उच्च अदालत राजविराज इजलाशमा मुद्दा दर्ता गरे।

पुख्र्यौली सम्पत्तिको रुपमा ससुराको नाममा रहेको एक बिघा १६ धुर जग्गामध्ये उनले १० कठ्ठा आठ धुर जग्गा पाएकी थिइन्। तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दावीसहित उनले २०७४ भदौ ५ मा सिरहा जिल्ला अदालतमा अंश मुद्दा हालेकी थिइन्। उक्त मुद्दा फैसला हुनु अगावै भतिजो लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ’ भन्दै पटक पटक धम्क्याएको अंश मुद्दामा कारीदेवीकी वारेश रहेका नाति पुनित यादवले बताए। त्यसको दुई महिना लगत्तै साउन २५ देखि कारीदेवी बेपत्ता भएकी थिइन्। कारीदेवी हराएको साँझ लक्ष्मण, उनका मामाका छोरा राधेश्याम, नाम नखुलेका अन्य दुई गरी चार जना मिलेर चोहर्वा बियर पार्टी गरेपछि लक्ष्मण ससुराली जान्छु भन्दै हिँडेको र अन्य तीन जना मिलेर कारीदेवीलाई घरबाट लिएर आएपछि बाटोमा हत्या गरेर गाडेको हुन सक्ने गाउँलेहरुको भनाइ छ। प्रहरीले रामदेव र लक्ष्मण गत मंगलबार नै नियन्त्रणमा लिएको छ। शव भेटिएको जग्गा उनीहरुको मामाको हो। थाहाखबर