दक्षिण कोरियामा रहेका नेपाली कामदार र आफन्तलाई खुसीको खबर

113

साउन २१,
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिलाइसकिएको र केही कामदारका आफन्तले भेटघाट गरेर आइसकेको जानकारी दिनुभयो । कोरियाले केही समयभित्रै यसको औपचारिक घोषणा गर्नेछ ।

भेटका अवसरमा मन्त्री विष्टले नेपाली युवाका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको बताउँदै इपिएसमार्फत कोरिया लैजाने कामदारको संख्या थपका लागि कोरिया सरकारसँग पहल गर्न आग्रह गर्नुभयो । नेपाली कामदारलाई त्यहाँको आवश्यकतानुसार भाषा र सीपको विकास गर्न सरोकार भएका मन्त्रालयका बीच समन्वय गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले संघीय सरकारको मातहत रहने गरी स्थापना हुन लागेका तीन प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा गर्नुभयो । मन्त्री विष्टले नेपालमा रहने कोरियालीलाई नेपाल बसाइका क्रममा कुनै पनि असुविधा हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो