जनदबावपछिः वृद्धि गरेको कर फिर्ता

85

साउन १६,
पर्सा । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिकाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिए ।

उनले पेट्रोलिय पदार्थमा लगाइएको कर, घरजग्गा तथा एकीकृत सम्पत्ति कर, पटके सवारी कर, उत्पादन कर, व्यपार कर, कबाडी कर र कुखुरामा कायम गरिएको करलाई स्थगन गरी पुरानै दर कायम गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिए ।
प्रमुख सरावगीले महानगरपालिकाले हालसम्म शिक्षा र आर्थिकलगायत ११ ओटा ऐन पारित गरेको जानकारी पनि दिए ।महानगरपालिकाले चालू आवका लागि निर्धारण गरेको करको नयाँ दरको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा तीन दर्जनभन्दा बढी संघ–संस्था र विभिन्न राजनीतिक दल सडकमै उत्रिएपछि वृद्धि गरिएको करलाई महानगरपालिकाले फिर्ता लिने निष्कर्षमा पुगेको हो ।