साउन १३,
काठमाडौं । नेकपाकी सांसद गंगा चौधरी सदगुवाले डा। गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छन्। उनले संसदमा चिकित्सा शिक्षा विधेयकमा सैद्धान्तिक छलफलमा भाग लिने क्रममा गोविन्द केसीको अनसनका कारण थुप्रैले उपचार पाउन नसकेर ज्यान गुमाउनु परेको भन्दै केसीलाई हत्याराको आरोप लगाइन्। उनले बोल्दै गर्दा कांग्रेसले नियमापत्ती जनाएको भएपनि सभामुख कृष्णबहादुर महराले नियमापत्ति राख्ने सांसदलाई बोल्न दिएनन्। उनले चौधरीलाई नै अगाडि बोल्न दिएका थिए। चौधरीले १० वर्षसम्म मेडिकल कलेज नखोल्दा अधोगतिको बाटो हुने भन्दै केसीकोविरुद्धमा बोलेकी थिइन्। ‘गोविन्द केसी हत्यारा हुन्,’ उनले भनिन्, ‘यसको जिम्मा कांग्रेसले लिने हो कि, गोविन्द केसीले लिने हुन्।’ संसदमा सांसद्ले बोल्दै गर्दा संसदीय मर्यादा विपरितका शब्द प्रयोग भएपछि कुनै सांसदले नियमापत्ति जनाए सभामुखले त्यसलाई नियमापत्ति ठानेमा त्यो शब्दलाई संसदको रेकर्डबाट हटाउने प्रचलन हुन्छ।