सरकारी कार्यालयमा ट्विटर एकाउन्ट अनिवार्य

90

अन्नपूर्ण पोष्ट -साउन ९,
काठमाडौं । सरकारले सबै सरकारी कार्यालयमा सामाजिक सञ्जाल ‘ट्विटर’ अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने निर्देशिका तयार पारेको छ । सरकारी कार्यालयले ट्विटरमार्फत नै सूचना तथा जानकारी प्रभाव गर्नुपर्ने भन्दै यसका लागि कार्यविधि तयार पारिएको हो । यससँगै सरकारी कार्यालयले आफ्नै ट्विटर सञ्चालन गर्नुपर्नेछ ।

ट्विटर ह्याण्डलमार्फत आफ्नो मन्त्रालय तथा विभागको सूचना प्रकाशित गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकार कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले बताए । उनका अनुसार प्रधानमन्त्री कार्यालयले ‘सरकारी निकायद्वारा ट्विटर खाता प्रयोग गर्ने कार्यविधि, २०७५’ तयार पारिसकेको छ । कार्यविधिमाथि सचिवस्तरमा छलफल भइरहेको उनले बताए । अपाध्यायका अनुसार त्यहाँबाट आएको कार्यविधिलाई स्वीकृत गरी विभाग र मन्त्रालयमा ट्विटर ह्याण्डल खोल्नका लागि परिपत्र गरिनेछ ।

उनका अनुसार उक्त कार्यविधिले सबै मन्त्रालय र विभागलाई सामाजिक सञ्जाल ट्विटरमार्फत सूचना प्रदान गर्न अनिवार्य बनाउनेछ । यसका साथै कार्यविधिले मन्त्रालय र विभागलाई सूचना उपलब्ध गराउँदा एक रुपता प्रदान गर्न मार्गदर्शन समेत गर्ने उनले बताए । ट्विटर ह्यान्डलबाट सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्नु पर्नेछ ।