नयाँ पत्रिका दैनिक -साउन ७,
काठमाडौं । चीनले दोलखामा करिब ९ विघा नेपाली जमिन दाबी गरेको छ । नेपालले भने अस्वीकार गर्दै आएको छ । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । सो क्षेत्रमा सीमा चिह्न नम्बर ५७ नेपालतिर सरेको भेटिएको थियो । लामो समय फेला नपरेको सो सीमा चिह्न नेपालतिरको एउटा पहरोमा खोपिएको अवस्थामा ०६२ सालमा भेटिएको थियो । त्यहाँ ९ विघा नेपाली जमिनमा नेपाल र चीनबीच दाबीविरोध छ ।
चीनले सगरमाथाको उचाइ तीन दशमलब १६ मिटर घटी हुनुपर्ने दाबी गरेको छ भने नेपालले साबिक उचाइ ८ हजार ८ सय ४८ मिटर नै यथावत हुनुपर्ने दाबी गरेको छ । तर, २००१ मा अमेरिकाले सगरमाथाको उचाइ दुई मिटर थपिएर आठ हजार आठ सय ५० पुगेको दाबी गरेको थियो । नेपालले अमेरिकी र चिनियाँ दाबीलाई स्वीकार गरेको छैन । बरु आगामी वर्षसम्म सगरमाथाको उचाइ मापन गर्ने गरी काम भइरहेको जनएको छ ।
नेपाल–चीन सीमावार्ता अनिश्चित
नेपाल र चीनबीच सीमांकनको प्रोटोकल नवीकरणसम्बन्धी सीमावार्ता भने अझै निश्चित छैन । ०६८ मा तय भएको बैठक रोकिएपछि चीनसँग त्यसबारे छलफल भएको छैन । असार ५ देखि १० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा सीमा व्यवस्थापन प्रणालीबारे वार्ता गर्ने उल्लेख छ, तर सीमा प्रोटोकलबारे केही उल्लेख छैन । वक्तव्यमा सीमा सुरक्षाकर्मीबीच सूचना आदानप्रदान गर्ने, क्षमता वृद्धि र तालिममा सहयोग, सुपुर्दगी सन्धि र आपसी कानुनी सहायता सन्धिबारे छलफल गर्ने उल्लेख छ । यसैगरी, सीमापार अपराध रोक्ने तथा सीमा सुरक्षा र व्यवस्थापनसहित सीमा व्यवस्थापन प्रणालीबारे वार्ता गर्ने उल्लेख छ ।