संसद् बैठक आज

190

असार २२,
संघीय संसदले संसदीय सुनुवाइ विशेष समिति गठन प्रक्रिया थाल्ने भएको छ। शुक्रबार दिउसो १ बजे बोलाइएको बैठकबाट समितिमा रहने सदस्यको नाम सार्वजनिक गर्ने सभामुखको तयारी रहेको छ। सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने तय भएको छ। समितिमा रहने सदस्यको नाम प्राप्त भएकाले शुक्रबार नै सुनुवाइ समिति गठन प्रक्रिया अघि बढ्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। सुनुवाइ समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका ७, कांग्रेसका ३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट १–१ सदस्य रहने तय भइसकेको छ। हालसम्म राजपा बाहेक सबै दलले समितिमा रहने सदस्यको नाम दिइसकेका छन्। सुनुवाइ समिति नबन्दा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र विभिन्न मुलुकका राजदूत नियुक्त हुन सकेका छैनन्।