Sunday, September 27, 2026
Home स्वास्थ्य वर्षायाम लागेसँगै बिरामीको चाप

वर्षायाम लागेसँगै बिरामीको चाप

212

असार २२,
बैतडी । वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा मौसमी बिरामीहरु यो समयमा बढी पुग्ने गरेका हुन्। दैनिक जसो ६० देखी ७० जना बिरामी अस्पतालमा उपचारको लागी आउने गरेका मेडीकल अधिकृत डाक्टर देवेन्द्र लेखकले बताए। डाक्टर लेखकका अनुसार छातीसम्बन्धी, झाडापखाला, आउँ, पेट दुख्नेलगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन्। यस्तै ज्वरो, रुघाखोकीका बिरामी पनि धेरै जसो यो समयमा अस्पतालमा उपचारको लागि पुग्ने गरेका डाक्टर लेखकको भनाइ छ। खानपान, सरसफाई लगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डाक्टर लेखकले बताए। यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ। यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीहरुमा महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन्। गर्मी समयमा जिल्ला अधिकांश स्थानमा पानीको अभाव हुँदा र सरसफाईमा ध्यान नदिँदा समेत बिरामीहरुको संख्या बढ्दै गएको बताईएको छ। जिल्ला अस्पतालमा मात्रै नभएर जिल्ला अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन्। गर्मी मौसममा खानपान र सरसफाईमा विषेश ध्यान दिन स्वास्थ्यकर्मीको सुझाब छ।