असार २१,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वास्थ्य चौकी एवम् प्राथमिक उपचार केन्द्रहरु नागरिकको आवश्यकता र माग वमोजिम सेवा विस्तार गरि प्रभावकारी रुपमा स्वास्थ्य सेवा सञ्चालन हुन नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सूचना अधिकार समाज भक्तपुरको सहजीकरणमा सञ्चालन गरेको सामाजिक परिक्षणका क्रममा चाँगुनारायण नगर क्षेत्रभित्रका १० वटा स्वास्थ्य संस्थाहरुले सरकारले दिएको औषधी तथा सामान्य सेवा मात्र प्रदान गरेको तर, नागरिकको आवश्यकता र मागका आधारमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको गुनासो गरेका हुन् ।
चाँगुनारायण नगरपालिका–१ दुवाकोटका माधवप्रसाद न्यौपानेले मातृ तथा बालवालिकाको लागि दिने खोप सेवा, परिवार नियोजन सेवा र सामान्य बहिरंग सेवा स्वास्थ्य संस्थाबाट उपलव्ध हुने गरेको तर, स्वास्थ्य संस्थाहरुले सेवा विस्तार गर्न नसकेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरु १० बजेदेखी ५ बजेसम्म कार्यालयमा भेट्न नसक्ने भन्दै स्वयंसेविकाहरुलाई भने राज्यले उचित मुल्यांकन नगरेको गुनासो गर्नुभयो । सूचना अधिकार समाजले सामाजिक परिक्षणको प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा चाँगुनारायण नगरपालिका–३ का दधिराम गेलालले औषधी खरिद प्रक्रिया नै त्रुटिपूर्ण रहेकाले म्याद गुज्रेका औषधी स्वास्थ्य चौकीसम्म आउने गरेको गुनासो गर्नुभयो ।
उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय बजेट बढाउन माग गर्नुभयो । कार्यक्रममा दुवाकोटका स्थानीय सोम प्रधानले पूर्ण खोपयुक्त जिल्ला घोषणा भएपनि घरधुरी खोप योजना र बालबालिकाको तथ्यांकमा अन्तर देखिएको बताउनुभयो । चाँनपा–५ छालिङ्गकी जमुना थापाले स्वास्थ्य केन्द्रका भवन राम्रो भएतापनि बृद्ध र बौद्धिक अपाङ्ग मैत्री संरचना नभएको गुनासो गर्नुभयो । सरकारले तोकेको सामान्य मापदण्डका आधारमा स्वास्थ्य संस्था सञ्चालन भएतापनि प्रसुती (सुस्केरी गराउने) सेवा, डाक्टरको उपलब्धता र नियमित स्वास्थ्य सेवा प्रभावकारी नभएको सामाजिक परिक्षणको प्रतिवेदनले देखाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जनताको आवश्यकता र मागका आधारमा स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले आफनै स्वास्थ्य कार्यक्रमको क्यालेण्डर बनाएर सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । सो अवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले सामाजिक परीक्षणमा उठेका बिषयहरुको सम्बोधन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शहरी स्वास्थ्य केन्द्रमा शौचालय र पानीको व्यवस्था २ महिना भित्र गरिसक्ने, सवै स्वास्थ्य चौकी र केन्द्रका स्वास्थ्यकर्मीहरु १० देखि ५ बजेसम्म कार्यक्षत्रमै काम गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
नगर प्रमुख मिश्रले औषधी खरिद प्रक्रियामा समेत सुधार गरेर अघि बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुंवरले महिला स्वयमसेविकालाई सुविधा थप्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक परीक्षणले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बढाउनुपर्ने बिषय उठाएको बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख केवी चन्दले स्वास्थ्य चौकी र केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले नागरिकको स्वास्थ्यको दायित्व जिम्मेवारपूर्ण ढंगबाट निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सूचना अधिकार समाजका अध्यक्ष सोम शर्मा (बजगाईं), चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक अनिल ढुंगेल, सामाजिक परिक्षक नरेश श्रेष्ठलगायतले मुलुकको संघिय संरचना अनुरुप नै स्वास्थ्य संस्थाहरु पनि रुपान्तरित बन्दै जनमूखि र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।