असार २१,
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपा को राजनीतिक समितिको बैठक बस्दै छ। पार्टीको परिमार्जित विधान पास गर्नका लागि राजनीतिक समितिको बैठक बस्न लागेको हो। बैठक बिहीबार दिउँसो १ बजे राजपा केन्द्रीय कार्यालय बबरमहलमा बस्ने महासचिव केशव झाले बताए। खासगरी महाधिवेशनका लागि राजपाले विधान परिमार्जन गर्न लागेको हो। गतवर्ष मधेश केन्द्रित ६ दल एक भएर राजपा गठन हुँदा निर्वाचन आयोगमा एक वर्षभित्र महाधिवेशन गर्ने जानकारी दिएको थियो। तर राजपाले आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा महाधिवेशन गर्न सकेन। राजपालाई निर्वाचन आयोगले महाधिवेशनका लागि ताकेता गर्दै पत्र काटिसकेको छ। जेठ पहिलो हप्ता बसेको राजनीतिक समितिको बैठकले पार्टीको पहिलो महाधिवेशन २०७६ बैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। त्यसका लागि पार्टीको विधान संशोधन गर्नुपर्ने हुन्छ। जसका लागि पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला सदस्य रहेको विधान परिमार्जन समितिले विधानको मस्यौदा पार्टीको अध्यक्ष मण्डलमा बुझाइसकेको छ। बिहीबार बस्ने बैठकमा यो मस्यौदामाथि छलफल हुने छ। उक्त परिमार्जित विधान बिहीबार नै पारित गर्ने राजपाको लक्ष्या छ। यस्तै राजनीतिक समितिको बैठकले संसदीय दलको विधान पनि पारित गर्ने महासचिव झाले बताए। जेठ पहिलो हप्ता बसेको राजनीतिक समितिको बैठकले संसदीय दलको विधान पारित गर्न सकेको थिएन। संसदीय दलको विधान परित भएपछि राजपालाई संसदीय दल गठनका लागि बाटो खुल्नेछ।














