फरक-फरक दुर्घटना सात जनाको मृत्यु

210
फाइल तस्बिर

असार १९,
काठमाडौं । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नंको स्कारपिओ जिप आफैँ अनियन्त्रित हँुदा छजनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । उता सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ भने एकजना गम्भीर घाइते भएका छन् ।

दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक डाँगीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ भने घाइते चौधरीको अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । गाडी सडकदेखि करीब १०० मिटर तल खसेको छ । गाडी के कारणले पल्टियो त्यसबारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।